पर्वत ।पर्वतको कुश्मामा दुई यूवा मिलेर नयाँ प्रविधि अपनाएर माछापालन शुरु गरेका छन् । माछापालनमा राम्रो सम्भावना देखेर स्थानीय लालबहादुर हरिजन र दुर्गा पौडेलले कुश्मा नगरपालिका ४ अर्मादीमा बायोफ्लक्स प्रविधि भित्र्याएर माछापालन शुरु गर्नुभएको हो ।
थोरै जमिनमा धेरै उत्पादन दिनेगरि शुरु गरिएको माछापालन व्यवसायमा हरिजन र पौडेलको तीन करोड लगानी छ । सञ्चालकहरुले धौलागिरी एकीकृत कृषि फर्म सम्भवत मुलुकमै नयाँ प्रविधिको माछापालन रहेको दाबी गरेका छन् ।
हरिजन र पौडेलले २३ रोपनी जमिन २० वर्षको लागि भाडामा लिएर व्यवसाय शुरु गर्नुभएको हो । गोलाकार ढलान गरिएको जालीमा प्लास्टिक पोखरी बनाएर पानी भरिएको छ । युरोप र जापान जस्ता मुलुकहरुमा यस्तो माछापालन निकै लोकप्रिय बनेको लगानीकर्ता दुर्गा पौडेलले बताउनुभयो ।
हाल करिब दुई दर्जन पोखरीमा एक लाख बढी माछा छन् । माहुर, तिलापिया र पंगाशेस जातका माछा छुट्टाछुट्टै पोखरीमा छन् । त्यसबाहेक उहाँहरुले करिव चार हजार बोइलर कुखुरा पालन शुरु गर्नुभएको छ ।
कुखुरा र माछापालन एउटै फर्ममा गर्दा दुइतर्फी आम्दानी हुने व्यवासायी यूवाहरुको भनाइ छ । माछा र कुखुराको माग दिनानुदिन बढ्दो छ । नजिकमा पर्यटकीय शहर पोखरा भएकोले बजारिकरणमा समस्या छैन ।
पर्वत र बाग्लुङ बजारका विभिन्न आठ स्थानमा बिक्रि केन्द्र सञ्चालनको गर्ने तयारी पनि रहेको उहाँहरुले बताउनुभएको छ । बाग्लुङका तीन ठाउँमा, पर्वतमा ४ ठाउँ र म्याग्दीको बेनीमा २ ठाउँमा विक्री केन्द्र सञ्चालन गर्न थालिएको सञ्चालक हरिजनले बताउनुभयो ।
आफ्नै फर्मका माछा र कुखुरा व्यवस्थित बध गरेर उपभोक्ताका घरघरै शुद्ध माछामासु पठाउन थालिएको छ । फर्मकै नामबाट धौलागिरिमै पहिलोपटक आधुनिक कुखुरा बधस्थल सञ्चालनको तयारी गरिएको पौडेलले जानकारी दिनुभयो ।
करिव सवा करोडको लगानीमा सञ्चालन तयारीमा रहेको ‘अटोमेटिक सटरिङ लाइन’ मार्फत् धौलागरिमा भइरहेको अव्यवस्थित कुुखुरा बध गर्ने प्रचलन अन्त्य हुने विश्वास गरिएको छ ।
बधस्थलका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ अनुदान दिएको छ । हरिजन र पौडेलका अनुसार धौलागिरीका सबै जिल्लामा गुणस्तरीय माछामासु पु¥याउने फर्मको लक्ष्य छ ।
माहुर, तिलापिया, र पंगासेस (जलकपुर) जातका माछा कम्तिमा ८ देखि १० महिनामा बेच्न मिल्छ भने माहुर एक किलोसम्म हुन्छ । यसको बजारमुल्य प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ छ । पंगासेस आधा किलोको हुन्छ । यसको बजारमुल्य ५०० रुपैयाँ छ ।
तिलापिया बढीमा दुईसय ग्रामको हुन्छ । तिलापियाले भुरा आफैं उत्पादन गर्ने भएकोले यसको विस्तारमा सहज हुने व्यवासायीहरुले बताउनुभयो । तिलापियाको बजार मुल्य अहिले प्रतिकिलो चार सय रहेको बताइएको छ ।
अबको केहि महिनाभित्रै मासिक ३ लाख आम्दानी लिन सकिने योजना युवाहरुको छ । पर्वतमा नयाँ प्रविधिको माछापालन शुरु भएपछि देशका विभिन्न स्थानबाट अवलोकनकै लागि दैनिक १०/१२ समूह आउने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६, ०८:०६