काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
आज बसेको सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सीआईएनसँग बताउनुभयो ।
कुन प्रदेशका लागि कसलाई नियुक्त गर्ने भन्ने बारेमा सरकारको सल्लाहमा राष्ट्रपतिले निर्णय गर्ने सहमति भएको नेकपाका महासचिव विष्णु पौडेलले सचिवालय बैठकपछि जानकारी दिनुभयो ।
शेरचन पूर्वउपप्रधानमन्त्रीसमेत हुनुहुन्छ भने सिफारिसमा पर्नुभएका अधिकारी कास्कीका पूर्व सभासद हुनुहुन्छ । बाँकेका तिलक परियार पूर्व सभासद हुनुहुन्छ भने यादव नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो। बैतडीका कलौनी २०४८ मा शेरबहादुर देउवासँग चुनाव लड्नुभएको थियो ।
प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवारमा उठ्नुभएको थियो र त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुनुहुन्छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६, १४:१८