काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार महरालाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ ।
जेलमा महराले तीन जना साथी पाउनुभएको छ । सबै कैदी/बन्दीलाई एउटै सुविधा हुने र महरा पनि संयुक्त कोठामै बसेको डिल्लीबजारका जेलर अरुण पोखरेलले सीआईएनसँग बताउनुभयो । अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सजिलो हुने भएकाले धेरैले डिल्लीबजार कारागार जान चाहान्छन् ।
सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् ।
यसमध्ये महरालाई राखिएको 'क' ब्लकमा पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला महराका ‘सँगै बस्ने साथी’ बनेका छन् ।
ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सर्वोच्च अदालतले दोषी ठहर गरेपछि पनि लामो समय फरार रहेका उनी गत १९ असारमा अदालतमा उपस्थित भएका थिए ।
सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६, ०७:२४