आफ्नो पूरा होसहवासमा
लेखिरहेको छु म आज
इच्छापत्र आफ्नै !
म मरेपछी,
खङ्ग्राल्नु मेरा कोठा
खोतल्नु हरेक चिज
घरभरि बिना ताल्चाका
मेरा सामान छरिएका छन् !
दिनु मेरा सपना,
ती तमाम स्त्रीहरूलाई
जो चुलो-चौकादेखी ओछ्यानसम्म
खुम्चिएका छन् आफ्नै दुनियाँमा
हराएका छन् तिनीहरू
जो वर्षौं पहिले भूलीसकेका छन् सपना देख्न !
यो देशका एक-एक युवालाई समातेर
लगाई दिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ, क्रान्तिका ती दिनहरूमा !
बाँडिदिनु मेरा हाँसोका खित्काहरू,
वृद्धआश्रमका ती वृद्धहरूमा
जसका सन्तानहरू
अमेरिकाकाका जग्मगाउँदा सहरमा हराएका छ्न्!
टेवलमाथि हेर्नु,
मेरा केही रङ्गहरू होलान
ती रङ्गहरूले
रङ्गाईदिनु विधुवाको साडी
जसको श्रीमानको रगतले सीमाना रङ्गिएको छ
झण्डामा लट्पटिएर ऊ हिजो राति सुतेको छ !
आँशु मेरो दिनु
ती तमाम शायरहरूलाई
जसको हरेक थोपाहरूबाट हुनेछ गजलको जन्म
यो मेरो वचन भयो !
मेरो मान, मेरो पवित्रता
त्यो वेश्याको नाममा गरिदिनु
जो बेच्छे आफ्नो शरीर
छोरी पढाउनलाई !
यो देशका एक-एक युवालाई समातेर
लगाई दिनु इन्जेक्सन मेरो आक्रोशको
जसको जरुरत पर्नेछ, क्रान्तिका ती दिनहरूमा !
पागलपन मेरो,
पर्नेछ्न हिस्सामा ती सुफिहरूको
जो निस्किएका छन्
सबै छोडी ईश्वरको खोजिमा !
बस् !
बाँकी बच्यो
मेरो ईर्ष्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
यसो गर्नु
यसलाई म सङ्गै जलाईदिनु
कविताको शीर्षकः वसियत
लेखकः अमृता प्रितम
नेपाली अनुवाद : सारीकाश्री
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६, ०७:४५