ताप्लेजुङ । विकासका लागि महत्वपूर्ण आधार भनेको पूर्वाधार निर्माण हो । तर पूर्वाधारमा पर्ने सडक निर्माणमा कति ढिलासुस्ती हुन्छ भन्ने उदाहरण ताप्लेजुङको सडक आयोजनाले देखाएको छ ।
सरकारले १३ वर्षअघि छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक करिडोरले जोड्ने योजना अघि सार्यो । यही योजना अन्तर्गत चीनसँगको टिपताला नाका जोड्ने उद्देश्यसहित एक वर्षपछि उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको ट्रयाक खोल्न सुरु भयो ।
तर सडक निर्माणको गतिबाट आफूहरु खुसी नभएको स्थानीय तेञ्जिङ वालुङले बताउनुभयो । यो सडक पूरा भए २ सय ७० किलोमिटर यात्रा गर्दा चीनबाट भारत पुग्न सकिन्छ ।
फुङलिङदेखि फक्ताङलुङ गाउँपालिकाको लुङथुङसम्म ७६ किलोमिटर सडको ट्रयाक खुलिसकेको छ । टिपतालाबाट ओलाङचुङगोलासम्म २३ किलोमिटर सडक दुई वर्षअघि स्थानीय आफैंले खनेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङको भनाइ छ ।
प्रदेश १ लाई दुई देशसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको सडक भए पनि निर्माणमा तीब्रता पाउन सकेको छैन । सरकारले सन् २०३० सम्ममा पूर्वधार विकासमा फड्को मारी दिगो उपभोग र उत्पादन बढाउने लक्ष्य लिएको छ ।
यो दिगो विकासको लक्ष्य पुरा गर्न पनि यस्ता रणनीतिक महत्वका सडलाई प्राथमिकतामा राखिनुपर्नेमा ढिलाइ किन ? उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङ भने निर्माण कार्यको प्रक्रियाका कारण ढिलाइ भएको दावी गर्नुहुन्छ ।
झापाको केचनादेखि ताप्लेजुङको सुकेटारखण्ड कालोपत्रे भइसकेको छ । चीन र भारतलाई नेपालसँग जोड्न सक्ने यो सडकले चौथो मुलुक बंगलादेशसँग छोटो दुरीमा रहेको काँकडभिट्टा नाकालाई पनि सजिलो बनाउनेछ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६, ११:१७