काठमाडौं । अमेरिकाले नेपाल आतंकवादीहरु लोक्नेस्थल रहेको दावी गरेको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकारले नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने खतरा पनि रहेको औँल्याएको छ।
अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको तीन सय ३२ पृष्ठ लामो आतंकबाद २०१८को राष्ट्रिय प्रतिवेदनमा नेपालको प्रसंग पृष्ठ एक सय ७५ देखि एक सय ७७ पेजसम्म समावेश छ । प्रतिवेदनमा नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भारतसंगको खुल्ला सिमाना व्यवस्थापन कमजोर रहेका कारणले गर्दा अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ ।
विमानस्थलमा यात्रुहरुको प्रिस्कृन नहुनु तथा अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेशमा नराखिने भएकाले यहाँको सुरक्षा अवस्था कमजोर रहेको उल्लेख छ । बिमानस्थलमा सुरक्षाका लागि खटिने प्रहरीको सङख्या न्युन हुनुका साथै आवश्यक उपकरण अभावमा उनिहरुले अपेक्षित प्रभावकारिता देखाउन नसकेको भनिएको छ ।
नेपालले भारतसंगको खुल्ला सीमामा पनि पर्याप्त सुरक्षा प्रबन्ध नगरेको प्रतिवेदनमा औंल्याइएको छ । सिमामा थोरै चेक प्वाइन्टहरु राखिएको र त्यहाँ पनि पर्याप्त सुरक्षा नियन्त्रण नरहेको उल्लेख छ ।
कमजोर सिमा सुरक्षा प्रणालीकै कारण भारतीय मुजाहिद्दीनले आफ्ना गतिविधिलाई नेपालमा पनि विस्तार गरेको प्रतिवेदनको भनाइ छ । हाल मुजाहिद्दीनका कार्यकर्ताका लागि नेपाल आश्रयस्थल हुन पुगेको पनि प्रतिवेदनमा भनिएको छ ।
विप्लब बारे पनि बोल्यो
प्रतिवेदनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई आन्तरिक आतङ्कवादी गतिविधिुको रूपमा प्रस्तुत गरेको छ। सन् २०१८ मा नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भएको प्रतिवेदनमा जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष विश्वमा आतंकवादको स्थितिबारे रिपोर्ट तयार पारी सार्वजनिक गर्ने गर्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६, १३:४४