काठमाडौं । संयुक्त राज्य अमेरिकाले आतङ्कवादसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल आतङ्कवादीहरुको अखडा बन्दै गएको जनाएको छ । नेपालमा विशेषगरी भारतीय आतङ्कवादीहरु सजिलै प्रवेश गर्ने गरेको अमेरिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा प्रतिवेदनमा औँल्याइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालमा आतङ्कवादी सहजै प्रवेश गर्न सक्ने भएकाले आतङ्कवादीको अखडाको रुपमा विकास हुँदै गएको उल्लेख गरिएको छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो भने नेपालमा त्यस्तो कुनैपनि गतिविधि नभएको दावी गर्छ ।
ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेयले अमेरिकाले भने जस्तो कुनैपनि गतिविधि नेपालको भूमि प्रयोग गरेर नभएको सीआईएनसँग बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको भौगोलिक अवस्था र केहि खुला सीमाका कारण हुन सक्ने सम्भावना रहेको हुन सक्ने भएपनि नेपाली भूभागबाट त्यस्तो गतिविधि भएको छैन ।’
उहाँले नेपाल सँधै सुरक्षाको विषयमा गम्भिर रहेको र सबै सीमामा दुवै देशका सुरक्षा निकायसँग निरन्तर समन्वयमा काम गरिरहेको पनि बताउनुभयो ।
नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेको र भारतसँगको खुला सीमाका कारण नेपालमा आतङ्कवादीहरु सहजै प्रवेश गर्न सक्ने जिकिर गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षासम्बन्धी विषयलाई गलत भनेको छ ।
विमानस्थलका प्रवक्ता प्रताप बाबुु तिवारीले पनि अमेरिकी प्रतिवेदन गलत भएको बताउनुभएको छ । सीआईएनसँगको कुराकानीमा उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणको मापदण्ड अनुसार नै विमानस्थलको सुरक्षा व्यवस्था निर्धारण गरिएको र त्यहि अनुसार काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विमानस्थलमा अत्याधुनिक मेशिन जडान नभएपनि अन्तर्राष्ट्रिय नागरिक उड्ययनले निर्धारण गरेको मापदण्डमा नै सुरक्षा जाँच भइरहेको छ । प्रतिवेदनमा उल्लेख गरे जस्तो जाँचका लागि चाहिने अत्याधुनिक मेशिन जडानको काम भने चाँडै हुने छ ।’
अमेरिकी प्रतिवेदनमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि–स्क्रीन नहुने गरेको र डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको, यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको, यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको लगायतका बुँदाहरु उल्लेख गरिएको छ ।
प्रतिवेदनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’ को रूपमा प्रस्तुत गरेको छ । गत बर्ष नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भएको प्रतिवेदनमा उल्लेख छ ।
सुरक्षासम्बन्धी जानकारहरु भने अमेरिकाको यो प्रतिवेदनले नेपाललाई नकारात्मक असर पार्न सक्ने बताउँछन् । पूर्व प्रहरी उपमहानिरिक्षक हेमन्त मल्लले सीआईएनसँग कुराकानी गर्दै पर्यटन वर्ष २०२० लाई अमेरिकाको यो प्रतिवेदनले प्रभावित पार्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन नेपालले नमानेपनि अन्तर्राष्ट्रिय स्तरमा यसलाई मान्ने धेरै मुलुकहरु छन् । अमेरिकाले आफ्नो देशमा नेपाल भ्रमण नगर्न भन्दै आदेश दिएमा र अन्य देशले पनि यस्तो आदेश दिएमा पर्यटन वर्ष सबैभन्दा बढी प्रभावित हुनेछ ।’
केन्द्रिय अनुसन्धान ब्यूरोमा काम गरिसक्नुभएका मल्लले नेपाल र भारतले सँधै आतङ्कवादको विषयमा एक अर्कासँग बलियो समन्वय गरेर काम गर्ने गरेको पनि बताउनुभयो ।
यसैबीच, नेपाल सरकारको तर्फबाट अमेरिकी प्रतिवेदनप्रति अहिलेसम्म कुनैपनि प्रतिक्रिया आएको छैन । हामीले गृह र परराष्ट्र मन्त्रालयमा बुझ्न खोज्दा यो विषयमा मन्त्रालयका कर्मचारीले अनभिज्ञता जनाए भने मन्त्रीको फोन उठेन ।
त्यसपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई प्रतिवेदनबारे बुझ्न खोज्दा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म राजधानी बाहिर थिएँ, मलाई यो विषयमा कुनै जानकारी छैन । परराष्ट्रलाई बुझ्नुस् ।’
अन्तर्राष्ट्रिय राजनीति र सुरक्षाका विज्ञहरुले भने अमेरिकाको यो प्रतिवेदनलाई खण्डन गर्दै इन्डो प्यासेफिक र बेल्ट एण्ड रोडको विषयमा असन्तुष्ट भएर अमेरिकाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हुन सक्ने आशंका गरेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६, ०८:४३