काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिकामा नेपाली भूमीमा समेत भारतले मन्दिर बनाउन अवरोध गरेको छ । ब्याँस गाउँपालिकाले कालापानी क्षेत्रमा काली मन्दिर बनाउन लाग्दा भारतिय पक्षले मन्दिर बनाउन नदिएको हो ।
कालापानीमा काली मन्दिर बनाउन ब्याँस गाउँपालिकाले यो आर्थिक वर्षका लागि चार लाख रुपैयाँ विनियोजन गरेको थियो । तर भारतले कालापानी आफ्नो जमिन भएको भन्दै मन्दिर बनाउन नदिएको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत रामदत्त जोशीले सीआईएनसँग बताउनुभयो ।
मन्दिर निर्माणको लागि उपभोक्ता समितिहरु मन्दिर बनाउन कालापानी पुग्दा भारतिय पक्षले मन्दिर बनाउन नदिएको उहाँको भनाइ छ ।
भारतिय पक्षले महाकाली नदीवारी आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र, स्थानीय ब्यासी सौका समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरुलाई प्रवेश निषेध छ ।
‘काम थालिसकेपछि समस्या उत्पन्न हुन सक्ने आशंकामा सीमामा तैनाथ भएको भारतिय सुरक्षाकर्मीलाई हामी सोध्न गएका थियौं’ जोशीले सीआइएनसँग भन्नुभयो, ‘तर भारतिय सेनाले भगवान किन अर्को चाहियो भन्दै मन्दिर बनाउन दिएन । त्यसपछि कामै सुरु हुन सकेन । ’
भारतले अतिक्रमित गरेको भन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउने तयारी भएको थियो । अतिक्रमित भूमी पनि नेपाली नै हो । कालापानी दार्चुलाको सबैभन्दा उत्तरी ब्याँस गाउँपालिका, वडा नम्बर १ मा पर्छ ।
सन् १८१६ मा सुगौली सन्धिद्वारा निर्धारित नेपालको पश्चिमी सीमा महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्पियाधुरा हो ।
नेपालसँग रहेका पुराना दस्ताबेज, इस्ट इन्डिया कम्पनी (सर्भे अफ इन्डिया)द्वारा प्रकाशित नक्सा र जलविज्ञानका सिद्धान्तले यो पुष्टि भइसकेको तथ्य हो ।
तर भारतले पछिल्लो पटक लिम्पियाधुराभन्दा पूर्व तिल्सी कालापानीमा सैन्य क्याम्प खडा गरेको छ । त्यहाँ रहेको पानीको सानो मूललाई कालीको नक्कली मुहान बनाएर त्यसभन्दा माथि लिपुलेकसम्म कब्जा गरेको छ ।
कालापानी क्षेत्रमा नेपाल सरकारको उपस्थिति छैन । अनुपस्थितिको फाइदा उठाउँदै त्यहाँ भारतिय सुरक्षा फौज प्रवेश गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६, ०७:३६