काकरभिट्टा, झापा । आफ्नै गाउँपालिकको केन्द्र पुग्न विदेशको बाटो प्रयोग गर्नु पर्छ भन्दा अचम्म लाग्न सक्छ । तर इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जौवारीका स्थानीयको बाध्यता यस्तै छ ।
पूर्वी इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जौवारीका स्थानीयलाई आफ्नै गाउँपालिकाको केन्द्र देउराली पुग्न पूरै एकदिन लाग्छ । त्यति मात्रै होइन भारतीय भूमी भएर जानु पर्ने बाध्यता छ ।
स्थानीय विजयकुमार लामाले भन्नुभयो, ‘हाम्रो आफ्नो गाउँपालिका जानलाई इन्डियाको मानेभञ्ज्या, सुकिया हुँदै पशुपति, फिकल हुँदै इलाम गएर उँभो देउराली घुम्नुपर्छ । नेपालबाट छ छन त तर असुविधा । बाटो छैन ।
भारतको बाटो हुँदै जानलाई धेरै लामो बाटो पर्छ । जान एकदिन आउन एकदिन । टन्न खर्च बोकेर जानुपर्ने हुन्छ । दुई हजारको काम छ भने यहाँबाट १० हजारजति बोकेर जानुपर्छ । बस्नुपर्यो, खानुपर्यो । भारु नेरु पैसा बोकेर जानुपर्छ । एउटा काम गर्नको लागि तीन दिनचाहिँ माया मार्नैपर्छ ।’
वडा कार्यालय पुग्न समेत तीन घण्टा हिड्नुपर्ने अवस्था छ । जौवारीमा करिब एक सय ५० जनसङ्ख्या छ । उनीहरुलाई गाउँपालिका केन्द्रमा कुनै काम पर्दा बास बस्नैपर्ने हुन्छ ।
अर्का स्थानीय केबि कठायत गाउँपालिकाको काममा जाँदा बस्नैपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिका जाँदा त बस्नैपर्ने हुन्छ । एकैदिनमा काम हुन्छ भन्ने हुँदैन । बाटोको साह्रै समस्या छ । जौवारीका मानिसहरुलाई निकै कठिन छ ।’
वडा र गाउँपालिकाको केन्द्रबाट टाढाको बस्ती भएकाले आधारभूत सेवा सुविधा गाउँमै व्यवस्था भए सजिलो हुने जौवारीका स्थानीय बताउँछन् ।
स्थानीय सरकारले आफूहरुको गुनासो नसुनेको उनीहरुको दुखेसो छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६, ०९:०६