वियजकुमार बौडेल, रेडियो मदनपोखरा, पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकाले १६ सय दलित तथा अल्पसंख्यक परिवारको निःशुल्क बीमा गरेको छ ।
नगरपालिकाले निःशुल्क बीमा गरिदिएपछि राहत महसुस गरेको स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका विपन्न परिवारले बताएका छन् ।
नगरपालिकाले निःशुल्क बीमा गरिदिएपछी विभिन्न रोगको औषधी खाने घरपरिवारलाई सजिलो भएको तानसेन ३ का सुर्यप्रकाश दर्नालले बताउनुभयो ।
सामान्यदेखि जटिल समस्यामा परे पनि उपचारका लागि समस्यामा पर्ने दलित समुदायका नागरिकलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम बनाएको हो ।
बीमा कार्यक्रममा लाभग्राहीको उत्साहजनक सहभागिता रहेको बीमा दर्ता सहयोगी कल्पना रावलले बताउनुभयो ।
रावलले भन्नुभयो, ‘उहाँहरु आफैं गर्न नसक्ने हुनुहुन्थ्यो, नगरपालिकाले बीमा गरिदिएपछि सबैजना यसमा आबद्ध हुनुभएको छ र उपचार सेवा पनि लिइरहनुभएको छ ।’
नगरपालिकाले नगरभित्रका १६ सय परिवारको बीमा गरिदिएको हो ।
यो कार्यक्रममा हरेक परिवारको २५ सय रुपैयाँ बराबरको बीमा हुने तानसेन नगर सामाजिक विकास समिति संयोजक दिपक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रम निकै प्रभावकारी भएको विश्वकर्माले बताउनुभयो ।
स्थानीय सरकारले सबै नागरिकको स्वस्थ रहने र बाँच्न पाउने मौलिक अधिकारको रक्षा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसैको अभ्यासमा पहिलो चरणमा दलित र अल्पसंख्यक समुदायको निःशुल्क बीमा गरिएको तानसेन नगरपालिकाका मेयर अशोकुमार शाहीको भनाइ छ ।
शाहीले भन्नुभयो, ‘सदियौंदेखि राज्यको मूल प्रवाहबाट बाहिर पारिएका व्यक्तिहरु हाम्रो पहिलो प्राथमिकतामा पर्नुपर्छ भन्ने हिसाबले हामीले दलित समूदायलाई पहिलो प्राथमिकतामा राखेका हों । नगरपालिकाको तर्फबाट स्वास्थ्य बीमा गरिदिनुपर्छ भन्ने टुंगोमा पुगेपछि सर्वसम्मत भयो ।’
नगरपालिकाले विपन्न लक्षित कार्यक्रम अन्तर्गत बीमाको व्यवस्था गरेपछि उपचार खर्च थेग्न नसकेर ज्यान गुमाउन नपर्ने नागरिकले विश्वास लिएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६, १०:३१