दोलखा । सन् २०३० सम्ममा सबै छात्राछात्रहरूलाई सान्दर्भिक साथै सिकाईका सकारात्मक असर प्राप्त हुनसकून् भन्ने दिगो विकासको लक्ष्य छ ।
निशुल्क, न्यायोचित तथा गुणात्मक प्राथमिक र माध्यमिक शिक्षाको सुनिश्चित गर्ने दिगो विकासका लक्ष्य प्राप्त गर्न भन्दै दोलखाका स्थानीय तहहरूले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।
प्राथमिक तहसम्मका दोलखाका सामुदायिक विद्यायमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको छ । गौरीशंकर गाँउपालिकामा रहेको नीलकण्ठेश्वर माविका प्रधानाध्यापक शान्त लामा शेर्पाले आफूहरूले अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि अभिभावकह पनि खुसी भएको बताउनुभयो ।
अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएपछि सामुदायिक विद्यालयमा अभिभावकले आफ्नो बालबालिका पठाउन थालेका छन् । बैतेश्वर गाँउपालिका ६ मा रहेको बुस्ती आधारभुत विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद घिमिरे भने अङग्रेजी माध्यमको पढाइ गर्दाका चुनौती पनि छन् भन्नुहुन्छ ।
सन् २०३० सम्ममा कक्षा ५ को निम्ती सिकाइ उपलब्धि गणितमा ५३.३ बाट ६५, नेपालीमा ६३ बाट ६७ र अङ्ग्रेजीमा ५३.६ बाट ६८ पुर्याउने लक्ष्य दिगो विकासले लिएको छ ।
कक्षा १ देखि ५ सम्म भिमेश्वर नगरपालिकाले पनि अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेको नगर प्रमुख भरत केसीले जानकारी दिनुभयो ।
अङ्ग्रेजी माध्यमको शिक्षाको लागि बजेटसमेत विनियोजन गरी यहाँका स्थानीय तहहरूले दक्ष शिक्षक राख्ने, क्षमता अभिवृद्धिका कार्यक्रम राखेका छन् ।
गौरीशंकर गाँउपालिकाका उपाध्यक्ष उर्मिला थामीले निजी विद्यालयमा जस्तै गुणस्तरीय शिक्षा दिनका लागि आफूहरूले पहल गरेको दावी गर्नुभयो ।
स्थानीय सरकार आएपछि गुणस्तरीय शिक्षाका लागि भन्दै दोलखाका ९ वटै स्थानीय तहले अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था गरेका छन् । तर अभिभावकमा बढ्दो अङग्रेजी मोहले बालबालिकामा मातृभाषाको ज्ञान हराउँदै जाला भन्ने चिन्ता पनि समाजमा सुनिन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६, १५:३०