३० वर्षपछि मित्रराष्ट्र बङ्गलादेशबाट नेपालमा राष्ट्रप्रमुखस्तरीय भ्रमण भएको छ । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउनुभएको छ ।
सन् १९४७ को अगष्ट १४–१५ मा भारतबाट विभाजन भई बनेको पाकिस्तानको पूर्वी भागको रूपमा चिनिदै भेदभाव विरुद्ध सङ्घर्षका क्रममा बङ्गाली स्वतन्त्रता आन्दोलनमार्फत २६ मार्च १९७१ मा पाकिस्तानबाट अलग भएर बङ्गलादेश स्वतन्त्र देश घोषणा भएको थियो ।
सङ्घर्षको इतिहासबाट उदाएको बङ्गलादेशले पछिल्लो दशकमा तीब्र आर्थिक विकास गरिरहेको छ । खाद्यान्नमा आत्मनिर्भर बन्दै लोभलाग्दो विकासको गतिमा रहेको बङ्गलादेशसँग नेपालको सम्बन्ध, सिकाइ र पारस्परिक लाभ लिने बारेमा नेपालले के कति योजना बनाएको छ ? बङ्गलादेशका लागि नेपाली राजदूत डा बंशिधर मिश्रसँग सीआईएन खबरका लागि श्रीधर न्यौपानेले ढाकास्थित नेपाली दूताबासमा गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
सर्वप्रथम, बङ्गलादेशका लागि नेपाली राजदूतका रूपमा कार्यभार सम्हाल्नुभएकोमा बधाई छ । सक्रिय राजनीतिबाट कूटनीतिक क्षेत्रमा आउँदा कस्तो अनुभूति भइरहेको छ ?
यहाँलाई धेरै धेरै धन्यवाद । म लामो समयसम्म सक्रिय राजनीतिमा रहेँ । तीन पटकसम्म जनताका प्रतिनिधिका रूपमा काम गरेँ । तत्कालीन नेपाली काँग्रेस प्रजातान्त्रिक र नेकपा एमालेको २०६१ असारमा गठित संयुक्त सरकारमा स्वास्थ्य राज्य मन्त्रीका रूपमा सेवा गरेँ ।
संविधान निर्माणमा पनि सक्रिय भूमिका रह्यो । अहिले राजदूतका रूपमा बङ्गलादेशमा छु । राजनीति र कूटनीतिमा धेरै अन्तर छैन, एकअर्कामा सम्बन्धित छन् । राजदूतका रूपमा मेरो नियुक्ति र बङ्गलादेशमा ओहोदाको प्रमाणपत्र बुझाएपछि अहिले दुई देशबीचको सम्बन्ध र सम्भावना बारे गहन अध्ययन गरिरहेको छु ।
पूर्ण रूपमा काम सुरु गरेको डेढ महिना हुँदैछ । यो अवधिमा केही काम सुरु मात्र गर्न सकिएको छ । म केही गरेर देखाउँछु भन्ने अठोटका साथ आएको हुँ, त्यसैअनुसार काम अघि बढिरहेकै छ ।
यहाँले कुन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
मलाई यही प्रश्न संसदीय सुनुवाईका क्रममा पनि सोधिएको थियो । मेरो प्राथमिकता भनेको नेपाल र बङ्गलादेश बीचको ‘कनेन्टीभिटि’ हो । दुई देश बीचको सम्बन्धलाई जनस्तरमा जोड्ने काममा लागिरहेको छु ।
नेपाल र जनगणतन्त्र बङ्गलादेशबीच ८ अप्रिल १९७२ मा कूटनीतिक सम्वन्ध स्थापना भएदेखि नै परस्पर समझदारी सौहार्द एवं हार्दिक सम्बन्ध कायम छ ।
नेपाल र बङ्गलादेशबीच साझा मुद्दाहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा समान धारणा रहेको छ । यसमा जलवायु परिवर्तनदेखि अन्तर्राष्ट्रिय सहयोगसम्मका विषय छन् । दुवै मुलुक प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्छन, विकासका लागि समान खालका चुनौतीहरूको सामना गरिरहेका छन् ।
हालका वर्षहरूमा बङ्गलादेशले गरिरहेको आर्थिक तथा समाजिक क्षेत्रको विकासप्रति नेपालीहरू प्रभावित भएका छन् । यस्तो अवस्थामा यी दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मेरो विशेष पहल रहेन छ । व्यापार, पर्यटनलगायतका क्षेत्र पनि प्राथमिकतामा छन् ।
तपाईँले भन्नुभए जस्तै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन के कस्ता योजना बनाउनुभएको छ ?
नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरको भ्रमणका लागि पहल गरिएको छ । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति महामहिम अब्दुल हमिदको नेपाल भ्रमणकै विषय हेरौँ, यस्तो भ्रमण नएको लामो समय भएको थियो ।
यो भ्रमणले दुबै देशमा नयाँ र सकारत्मक सन्देश दिनेछ । महामहिम राष्ट्रपतिको भ्रमणपछि पनि नेपालबाट पनि उच्चस्तरको भ्रमण हुनेछ ।नेपालबाट परराष्ट्रमन्त्रीस्तरबाट भ्रमण हुने सैद्धान्तिक सहमति भएको छ । त्यसपछि दुई देशबीच विभिन्न चरणमा वार्ता र छलफल हुनेछन् । प्रधानमन्त्रीस्तरमा भ्रमण गराउनका लागि पनि पहल भईरहेको छ ।
उच्चस्तरीय भ्रमण हाम्रो प्राथमिकतामा छ । यस्ता भ्रमण प्रत्येक वर्ष गराउने योजनामा हामी लागिरहेका छौँ । उपल्लो तहदेखि जनस्तरसम्मका भ्रमणको थालनी भइसकेको छ । जसले एकअर्कालाई जोड्न मद्दत गर्नेछ ।
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेर विविध कार्यक्रम गरिरहेको छ । नेपालप्रति बङ्गलादेशी नागरिकको बुझाइ र नेपाल जाने ईच्छा कत्तिको देखिन्छ ? दूताबासले यसका लागि कस्तो पहल गर्दै छ ?
निकै महत्वपूर्ण विषय उठाउनुभयो, नेपाल र नेपालीप्रति बङ्गलादेशी जनतामा सकारात्मक भावना पाएको छु । यसलाई थप बलियो बनाउनुपर्छ । नेपालको एयरपोर्टका बारेमा बङ्गलादेशमा केही भ्रम छ । एउटा विमान दुर्घटनालाई लिएर पालिएको नकारात्मक धारणा चिर्नुपर्नेछ । नेपालमा पनि बङ्गलादेशको हिंसात्मक गतिविधि र जलप्रकोपलाई लिएर केही असुरक्षाको भाव पाईन्छ ।
बङ्गलादेश प्राकृतिक प्रकोपबाट बच्न गरिने पूर्व तयारीका लागि निकै अघि छ । यसमा भएको सुधारबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । नेपालका नदिमा हुने दुर्घटना र खोजका लागि बङ्गलादेशी गोताखोर लैजाने गरिन्छ । विपद् व्यवस्थापनका विषयमा नेपालका सुरक्षा अधिकारीहरूले बङ्गलादेशमा आएर तालिम लिएर गएका छन् ।
नेपालमा असिम प्राकृतिक सौन्दर्यता र अलौकिकता छ, ती कुरा हेर्नका लागि हामीले बङ्गलादेशका नागरिकलाई आग्रह गर्नुपर्छ । हामी त्यसको तयारी गरिरहेका छौँ ।
नेपालको पर्यटकीय आकर्षणको बारेमा बङ्गलादेशमा बिभिन्न कार्यक्रमहरु गरी प्रचारप्रसारको व्यवस्था मिलाइरहेका छौँ । यसका लागि बिभिन्न प्रदर्शनी तथा महोत्सवको आयोजन हुँदैछन, त्यसको सहजीकरण दुतावासले गर्ने छ ।
हामीले बङ्गलादेशका पत्रकार, साहित्यकार, सिनेकर्मीलगायतलाई नेपालको भ्रमणमा लैजाँदैछौँ । उहाँहरूले नेपाल घुमेर आउनुभएपछि बङ्गलादेशमा थप सकारात्मक सन्देश दिने अपेक्षा छ । दुबै देशबाट मिडिया भिजिट गराउने कार्यक्रम पनि छन् ।
सामाजिक सञ्जालमार्फत पनि भ्रमण वर्षको प्रचारप्रसार गर्दैछौँ । बङ्गलादेशसँगको निटकटताले दुबै देशका जनतालाई फाइदा पुर्याउँछ ।
करिब एक करोड पचास लाख हाराहारीमा हिन्दु र दसलाखभन्दा बढी बौद्धमार्गी, अन्य मुस्लिम गरी करिब १७ करोड जनसङ्ख्या रहेको तथा मध्यम एवं उच्च मध्यम वर्गको बाहुल्यता रहेको बङ्गलादेशबाट न्यून सङ्ख्यामा मात्र पर्यटक नेपाल जाने क्रमलाई परिवर्तन गर्दै अधिक सङ्ख्यामा नेपाल भ्रमण गराउने पहल भइरहेको छ ।
नेपालको पर्यटकीय आकर्षणको बारेमा बङ्गलादेशमा बिभिन्न कार्यक्रमहरु गरी प्रचारप्रसारको व्यवस्था मिलाइरहेका छौँ । यसका लागि बिभिन्न प्रदर्शनी तथा महोत्सवको आयोजन हुँदैछन, त्यसको सहजीकरण दुतावासले गर्ने छ ।
नेपाल भ्रमण वर्ष २०२० बारे बङ्गलादेशका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका माध्यमबाट प्रचारप्रसारको व्यवस्था गरिरहेका छौँ । नेपाल भ्रमण गर्न चाहने बङ्गलादेशी पर्यटकहरूलाई भिसा सहजीकरणका लागि पनि काम भईरहेको छ ।
नेपालले व्यापार र आर्थिक सम्बन्धमा बङ्गलादेशसँग कसरी काम गर्न सक्छ ? यहाँले अध्ययन गर्न भ्याउनुभएको छ ?
नेपाल र बङ्गलादेशबीच वाणिज्य तथा आर्थिक सम्बन्ध निरन्तर बढ्दो अस्थामा छ । काकरभिट्टा फूलबारी बङ्गलाबन्ध रुट खुल्ला भएपछि बङ्गलादेश सरकारले उसको मोङ्ग्ला बन्दरगाहबाट विभिन्न देशमा कारोबार गर्न सहमति प्रदान गरेको छ ।
बङ्गलादेशले पारवहनको अतिरिक्त रेल कोरिडोरसमेत प्रदान गर्ने सहमति भएको छ । नेपाल बङ्गलादेशबीच आवागमन तथा पारवहनको अतिरिक्त व्यवस्था गर्न रोहनपुर सिंहाबाद रेलवे रुट प्रदान गर्ने सम्बन्धमा नेपालले बङ्गलादेशलाई प्रस्ताव पठाएको छ ।
नेपाल र बङ्गलादेशबीच ५ मार्च २०१९ का दिन काठमाण्डौमा दोहोरो कर हटाउने र आयमा लाग्ने अतिरिक्त कर सम्वन्धी छुट रोकथाम सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुवै मुलुकका बीच लगानी विस्तार र व्यापार अभिवृद्धिमा मद्दत पुग्ने विश्वास छ । नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी र संयुक्त आर्थिक कारोबारको धेरै सम्भावना भए पनि उपयुक्त यातायात सम्पर्क संयन्त्रको अभाव,सीमा बिन्दुमा प्रर्याप्त पूर्वाधारको अभाव, निजी क्षेत्रको पहलकदमीको अभाव र कर बाहेकका अन्य बाधाहरुको कारण सम्भावना साकार हुन सकेको छैन ।
नेपालको पूर्वी नाकाबाट अलैँची, चिराइतो, अदुवा, अमृसो, चियालगायतका हरियो सागपात, बङ्गलादेश आउने गरेको थियो । बीचमा केही अवरोध उत्पन्न भएको भन्ने सूचना छ, त्यसको कारण पत्ता लगाएर छिट्टै समाधान गर्ने पहल गर्नेछु ।
बङ्गलादेशले नेपालको अपार जलस्रोतबाट ऊर्जा क्षेत्रमा प्रशस्त लाभ लिन सक्ने सम्भावना देखेर लगानी गर्न रुचि देखाएको छ । २१ जुन २०१९ मा बङ्गलादेशको ढाकामा सम्पन्न नेपाल–बङ्गलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीच उर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएका छन् ।
नेपालको जलविद्युत आयोजनामा बङ्गलादेशले लगानी गर्ने, नेपालबाट बङ्गलादेशसम्म विद्युत निर्यात गर्ने र दुबै देश वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको छ ।
यस्ता सहमतिले व्यापार र आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्छ भन्ने विश्वास छ । नेपालको पूर्वी नाकाबाट अलैँची, चिराइतो, अदुवा, अमृसो, चियालगायतका हरियो सागपात, बङ्गलादेश आउने गरेको थियो । बीचमा केही अवरोध उत्पन्न भएको भन्ने सूचना छ, त्यसको कारण पत्ता लगाएर छिट्टै समाधान गर्ने पहल गर्नेछु ।
नेपाल र बङ्गलादेशका नागरिकले बसबाट ओहोरदोहोर गर्न स्थलमार्गको विषयले चर्चा पाएर पनि सेलायो, यसबारे केही पहल गरिरहनुभएको छ ?
विगतमा सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेको काठमाडौँ–ढाका बस सेवा सञ्चालन एवं नियमित गर्न पहल थालेको छु । यसमा केही अप्ठेरा पनि देखिएका छन् ।
बङ्गलादेशका प्रमुख सहर तथा बन्दरगाहरूबाट सीधा बस र रेल सेवासँग नेपालका विभिन्न सहरहरूलाई जोड्न सम्भावित उपायहरूको खोजी गरी सम्झौताको पहल गर्ने योजना छ ।
नेपालले बङ्गलादेशबाट लाभ लिन सक्ने मुख्य क्षेत्र कुन कुन हुन् ? हामी नेपालबाट बङ्गलादेशमा के के पठाउन सक्छौँ ?
यो निकै महत्वपूर्ण विषय हो । नेपालबाट बङ्गलादेशमा ढुङ्गा निकासीको ठूलो सम्भावना छ । यसका लागि नेपाल सरकारको नीतिगत निर्णय र सरोकारवालाहरूसँग व्यापक छलफल गरी महाभारत पर्वत शृङ्खलाका कतिपय पहाडहरु वातावरण तथा भूगर्भविद्हरूको सल्लाहमा कटान गरी त्यहाँको ढुङ्गा बङ्गलादेशमा निकासी गर्न सकिन्छ ।
तराई–मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँदै बङ्गालको खाडीमा चुरेको माटो जम्मा हुने प्रकृयालाई न्यूनीकरण गरी बङ्गलादेशको डुबान समस्या समाधानमा पनि सहयोग पुर्याउन सकिन्छ ।
यसो गर्दा चुरे संरक्षण, नयाँ बस्ति निर्माण र बङ्गलादेशलाई ढुङ्गा बिक्री गरी तीन थरी लाभ लिन सकिन्छ । यो बहसको विषय हो । सामान्यस्तरमा हरियो सागपात, अलैँची, चिराइतो, अदुवा, अमृसो, चिया, दलहन जस्ता दैनिक प्रयोगहुने खाद्य अन्य बस्तु छन् ।
नेपालका व्यापारीहरूमाझ पनि बङ्गलादेशसँगको व्यापारिक फाइदाका विषयमा छलफल गर्न जरुरी छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६, १०:३५