प्रदेश नम्बर २ को जनकपुर अञ्चल अस्पताल अहिले केन्द्रिय प्रादेशिक अस्पतालमा परिणत भएको छ । नाम फेरिएसँगै सेवा सुविधा र काम पनि फेरिएको छ । बिरामीहरु अहिले अस्पतालको सेवाबाट खुशी छन् ।
अस्पतालको आँगनमा भेटिनु भएका जनकपुर रजौलका मोहम्मद इस्लामको श्रीमतीलाई रक्तचापको समस्या भएपछि ६ महिनादेखि नियमित अस्पताल आइरहनुभएको छ । अस्पतालमा डाक्टरको व्यवहार र सेवाहरु पहिलेको भन्दा फरक र राम्रो भएको उहाँ दुवै जनाको अनुभव छ ।इस्लाम भन्नुहुन्छ,‘अहिले अस्पतालमा उपचारका लागि आउँदा निकै राम्रो लाग्छ । डाक्टरहरुपनि राम्रोसँग उपचार गर्नुहुन्छ । पहिले यस्तो थिएन ।’
प्रदेश नम्बर २ को जनकपुर अञ्चल अस्पताल अहिले केन्द्रिय प्रादेशिक अस्पतालमा परिणत भएको छ । नाम फेरिएसँगै सेवा सुविधा र काम पनि फेरिएको छ । बिरामीहरु अहिले अस्पतालको सेवाबाट खुशी छन् ।
महोत्तरीका सञ्जय कुमार साह, श्रीमतिलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुग्नुभयो । नियमित वान्ता भइराख्ने समस्याले सताएपछि उहाँ अस्पताल पुग्नुभयो । इमर्जेन्सीमा भर्ना गरेपछि डाक्टरले जाँच गरेर औषधि दियो । स्टाफ र डाक्टरको व्यवहारले उहाँ निकै खुशी हुनुभयो ।
कामको शिलसिलामा बाहिर बस्दै आउनुभएका उहाँ झन्डै ८ वर्षपछि अस्पताल पुग्नुभएको थियो । यो ८ वर्षको अवधिमा अस्पताल पूर्ण रुपले परिवर्तन भएको उहाँको अनुभव छ । उहाँले सुनाउनुभयो, ‘साथीसँग सुनेको थिए, अस्पतालमा टिकट नकाटी उपचार नै हुँदैन । तर, यहाँ आउँदा पुरै फरक अनुभव भयो ।’ साहले थप्नुभयो, ‘श्रीमतिलाई इमर्जेन्सीमा लगेपछि डाक्टरलाई समस्या भन्नासाथ उहाँले बिना टिकट नै उपचार भयो पछि मात्रै टिकट काटे ।’
प्रदेश २ का ८ जिल्लामध्ये बीचमा पर्ने जनकपुर प्रादेशिक अस्पतालमा अहिले दिनकै २ सय ५० देखि ३ सय सम्म बिरामी आउने गर्छन् । बिरामीको भीँड थेग्न नसकि कहिलेकाहीँ अस्पताल परिसरमा पनि उनीहरुलाई सेवा दिनुपर्ने बाध्यता हुन्छ । नयाँ थपिएका भवनले अस्पतालमा सेवा सुविधा थपिएपनि कर्मचारी अभावका कारण भने उपचारमा समस्या हुने गरेको छ ।
अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.केडी दासले अञ्चल अस्पतालकै दरबन्दी अनुसार अहिले पनि सेवा सुचारु गर्नुपरेकोले समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘इमर्जेन्सी विभागमा कम्तिमा पनि १६ जना डाक्टर चाहिन्छ तर त्यो छैन । विशेषज्ञ डाक्टहरु पनि छैनन् । जसले गर्दा सेवा सुचारुमा समस्या भने हुने गरेको छ ।’
नेपालमा ७ हजारको हाराहारीमा अस्पतालहरु छन् । संघीय संरचनामा गएपछि केन्द्र सरकारले सातै प्रदेशमा एउटा प्रादेशिक अस्पताल निर्धारण गरेको छ । अस्पतालहरु केन्द्रिय र प्रादेशिक बन्दै गएपछि स्तरोन्नतरी र सेवा सुविधापनि राम्रो बनेको छ । ३ सय ५० शय्याको अस्पतालमा एक सय ४२ जना कर्मचारीको दरबन्दी छ । तर, अस्पतालमा भने जम्मा ८१ जना मात्रै कार्यरत छन् । समायोजनपछि सरकारले मुटुरोग विशेषज्ञ, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ, बालरोग विशेषज्ञ चिकित्सकहरु पठाएपनि ५० जना विशेषज्ञ डाक्टर हुनुपर्नेमा १५ जना मात्रै कार्यरत रहेको अस्पतालका मेडिककल सुपरिटेन्डेन्ट डा.नागेश्वर यादवले बताए ।
सेवा सहज भयो तर भनेको सबै उपचार अझै पाउन अन्तै जानुनुपर्ने वा निजीमा आउनुपर्ने बाध्यता पूर्ण रुपमा हटेको छैन् । संघीय संरचनामा गएपछि केन्द्र सरकारले सातै प्रदेशमा एउटा प्रादेशिक अस्पताल निर्धारण गरेको छ । अञ्चल अस्पताल प्रादेशिक अस्पताल बनेका छन् । सेवा सुधार हुँदैछ तर विशेषज्ञ नहुँदा भनेजस्तो उपचार पाइएको छैन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६, १४:१७