काठमाडौँ । अपाङ्गता भएका व्यक्तिले पनि अरु नागरिकले जस्तै काम गर्नसक्छन् तर समाजमा उनीहरूप्रतिको धारणा र बुझाइ अझैँ सकारात्मक छैन । तर तेह्रथुमका अपाङ्गता भएकाहरूको क्षमता र सीपको विकास गरिएपछि उनीहरूमा केही गर्न सक्छु भन्ने मनोबल जागेको छ ।
बिभिन्न फरक क्षमता भएका व्यक्तिलाई समाजले कम्जोर मात्रै ठान्दैन, बिभिन्न अवसरहरूबाट पनि वञ्चित गारउने परम्परा छ । तर गुडिया, कुसन बनाउने ४५ दिने तालिम लिएपछि दुर्गा लिम्बूको आत्मनिर्भर हुने आशा र भरोसा पलाएको छ ।
अपाङ्गता सशक्तिकरण तथा पुनस्र्थापना केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमको आयोजना गरेको हो । निर्मला खड्काको तालिमपछिको अनुभव अब स्वरोजगार बन्न सकिन्छ भन्ने नै छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाले लक्षित वर्गको कार्यक्रमका लागि ३ लाख बजेट बिनियोजन गरेँसँगै जिल्लाका अपाङगता भएका व्यक्तिले सीपमुलक तालिम पाएका हुन् । उनीहरूलाई दिइएको तालिमबाट आफै व्यवसाय गर्न सकून भन्ने उद्देश्य लिइएको प्रशिक्षक सोभा दाहालले बताउनुभयो ।
सन् २०३० सम्ममा कार्यान्वयन गर्ने गरी सरकारले सहमति जनाएको दिगो विकासका लक्ष्यमा अपाङ्गता भएकाहरूका लागि सामाजिक तथा राजनीतिक समावेशिता प्रवर्धन गर्ने भनिएको छ ।
तर फरक क्षमता भएकाहरूलाई आत्मनिर्भर बनाउन विषेश योजना आवश्यकता औँल्याउनुहुन्छ अपाङगता सशक्तिकरण तथा पुर्नस्थापना केन्द्रका महासचिव खड्गबहादुर दाहाल ।
तेह्रथुम जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या साढे ३ हजारभन्दा धेरै छ । म्याङलुङ नगरपालिकामा मात्र यो संख्या ४ सय ३७ रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६