काठमान्डु । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ ।
भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् ।
सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाएका थिए ।
यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो । नेपालले कुवेतसँगको अघिल्लो खेलमा भन्दा यसपटक केही सुधारिएको प्रदर्शन गरेको थियो ।
यो हारसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ । आजको खेलमा पराजित भएपछि, अघिल्लो चरण पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । अब नेपालले घरलु मैदानमा चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६, १७:४४