काठमाण्डौं । पाल्पाका रामप्रसाद घिमिरेले कफी खेती गर्न थालेको २० वर्ष भयो । नेपालमा कफिको माग राम्रै भएपनि सोचे जति उत्पादन भने गर्न सकिएको छैन । लगाइएको कफिमा किरा लाग्ने र गाउँघरमा काम गर्ने मान्छे नपाउँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।
गुल्मीका याम भक्तपनि कफि खेति गर्नुहुन्छ । कफि खेतीबाट आम्दानी राम्रै भएपनि उत्पादन अझै बढाउन सके अरुलाई पनि रोजगारी दिन सकिने उहाँले बताउनुभयो । सन् १९९५ मा बर्माबाट अरेबिया जातको कफि ल्याएर गुल्मीको आपचौरमा रोपेको इतिहास छ । त्यही बोटबाट अहिले नेपालको पाल्पा, धादिङ, स्याङ्जा, अर्घाखाँची सहित ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।
कफी खेतिको लागि नेपालमा झन्डै ६२ हजार हेक्टर उपयुक्त भएपनि हाल २८ सय हेक्टर क्षेत्रफलमा मात्रै, उत्पादन भईरहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जनाएको छ ।
कफी खेतिको लागि नेपालमा झन्डै ६२ हजार हेक्टर उपयुक्त भएपनि हाल २८ सय हेक्टर क्षेत्रफलमा मात्रै, उत्पादन भईरहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जनाएको छ । गत वर्ष ५ सय १३ मेट्रिक टन उत्पादन भएको कफि यो वर्ष ५ सय ३० मेट्रिक टन उत्पादन भएको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले नेपाली बजारमा कफिको माग बढ्दो भएको तर माग पूर्ती गर्न नसकिएको बताउनुभयो ।
उहाँले वर्षेनी कफि उत्पादन बढेपनि बजार माग पूरा गर्न नसकिएको भन्दै कफि उत्पादन बढाउन सकिए आयात कम गर्नुका साथै आत्मनिर्भर पनि बन्न सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालबाट कफिको दाना बाहिर निर्यात हुने गरेको छ । नेपालमा अझै अत्याधुनिक मेसिन नहुँदा बाहिरबाट ब्राण्ड बनेर कफि आयात हुँदा नेपाली बजारमा महँगो मूल्य तिर्नु परेको छ ।’
नेपालमा २२ वटा कफी प्रशोधन उद्योग छन् । समुद्री सतहबाट ८ सय देखि १४ सय मिटरको उचाईमा उत्पादन गर्न सकिने कफीमा आत्मनिर्भर बन्नका लागि केन्द्र सरकारले पनि तीन तहकै सरकारसँग मिलेर योजना अघि सारेको छ । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा.युवकधोज जीसीले कफि उत्पादन बढाउन किसानलाई अनुदानको व्यवस्था र तिन तहका सरकारबीच समन्वय गर्ने काम भइरहेको बताउनुभयो । उहाँले नेपालमा अत्याधुनिक कफि बनाउने मेसिनको जडानका साथै कसरी अझ बजारी करण निर्यात गर्न सकिन्छ भन्ने विषयमा पनि सरकार तयारीमा जुटेको जानकारी दिनुभयो ।
नेपालमा उत्पादन हुने कफी जर्मनी, स्विटजरल्याण्ड, जापान, अमेरिका लगायतका देशमा निर्यात हुन्छ । तर यसवर्ष कफी निर्यातसँगै आयात पनि बढेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६, १५:४३