काठमाडौँ । सङ्गीतकार सागर अधिकारी ‘शरद’ को एकल सङ्गीतमा भजन एल्बम ‘सङ्कल्प’ लोकार्पण गरिएको छ । काठमाडौँमा आज भएको एक कार्यक्रमका बीच वरिष्ठ गायिका चन्द्रकला शाहले एल्बमको लोकार्पण गर्नुभएको हो ।
गीति एल्बमको लोकार्पण गर्दै गायिका शाहले भजनका गीत कुनै समयमा धेरै सङ्ख्यामा रेकर्ड हुने गरेको भए पनि अचेल कमै सङ्ख्यामा रेकर्ड हुने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘भजनका गीत हराउने चिन्ता छाइरहेका बेला भजनको एल्बम सार्वजनिक भयो, यसका लागि म सङ्गीतकार अधिकारी, गायिका र सरोकारवाला सबैलाई धन्यवाद दिन्छु ।’ लोकापर्ण गर्दै गायिका शाहले भन्नुभयो ।
चारवटा भजन रहेको एल्बममा शब्द र गायन सरला घिमिरेको रहेको छ । एल्बममा गणेश, कृष्ण, शिव र बुद्ध भजन समावेश गरिएको छ । चारवटै भजनको भिडियो पनि तयार गरिएको छ भने दुईवटाको आज प्रदर्शन गरिएको थियो ।
भिडियोको निर्देशन भने बसन्त सापकोटाले गर्नुभएको हो ।
घिमिरेको जन्मोत्सवको अवसरमा गोङ्गबुस्थित मानव सेवा आश्रममा करिब ६० जना अशक्त वृद्धवृद्धालाई भोजनसमेत गराइएको थियो ।
गायिका घिमिरे, सङ्गीतकार सागर अधिकारी ‘शरद’ लगायतले संस्थालाई करिब २२ हजार पाँच सय रुपैयाँको हार्मोनियम पनि सहयोग गर्नुभएको छ । कार्यक्रममा पद्मदीप स्मृति प्रतिष्ठानको तर्फबाट गायिका घिमिरेलाई सम्ममान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष सुरेश घिमिरे ‘निश्चिन्त’ लगायत अरु अतिथिले गायिका घिमिरेलाई सम्मान गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६, २०:२५