नेपालगञ्ज । पाँचौ नेपालगञ्ज फुल म्याराथानको उपाधि त्रिभुवन आर्मी क्लवका नवराज साउँदले उचाल्नुभएको छ । पहिलो भई साउँदले नगद ५६ हजार पुरस्कार पाउनुभएको छ ।
उहाँले निर्धारित ४२ किलोमीटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पार गर्नुभएको थियो । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल हुनुभयो । तेस्रो स्थानका राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै २० हजार नगद रुपैयाँले पुरस्कृत हुनुभयो ।
चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महतराले हासिल गर्नुभयो । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौँ हुनुभएको छ । शीर्ष ८ स्थान हासिल गर्ने धावकहरुलाई पुरुस्कार वितरण गरिएको छ। महिला हाफ म्याराथनतर्फ जुम्ला घर र नेपाल आर्मीमा कार्यरत पूर्णलक्ष्मी न्यौपानेले उपाधि हात पार्नुभयो ।
उहाँले २१ किलोमिटरको दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गर्नुभयो । दोस्रो स्थान हासिल गरेकी जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पूरा गरी २० हजार रुपैयाँ प्राप्त गर्नुभयो भने तेस्रो स्थान हासिल गर्दै एपीएफका कृष्णसोरी सिन्तकलाले १० हजार प्राप्त गर्नुभयो । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर हुनुभयो ।
पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले पहिलो स्थान हासिल गर्नुभयो । उहाँले ३१ मिनेट ४० सेकेन्डमा दुरी पूरा गर्दै १० हजार रुपैयाँ पाउँदा दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाउनुभयो ।
महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै १० हजार पाउनुभयो जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गर्नुभयो ।
५ किलोमिटर छात्रमा केशर मास्के पहिलो, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रो हुनुभयो । छात्रा ३ किलोमिटर दौडमा सीमा चौधरी प्रथम हुँदा पूर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो हुनुभयो। २ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी पहिलो, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गर्नुभयो ।
व्हिलचेयर अन्तर्गत ट्राइसाइकल दौडमा यज्ञबहादुर खत्री पहिलो, सेवकराम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो हुनुभयो । किड्स रनतर्फ मोडल एकेडेमी पहिलो, युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भएको रेस डाईरेक्टर चन्द्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
म्याराथनमा विभिन्न जिल्लाका पुरुषतर्फ १९ सय १७ र महिलातर्फ ७ सय ८८ गरी जम्मा २७ सय ५ खेलाडीको सहभागिता रहेको म्याराथन सचिवालयका सदस्य सुनिल विस्टले जानकारी दिनुभयो ।
दस वर्षे सशस्त्र द्वन्दको औपचारिक अन्त्य भई शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेलाई संस्मरण गर्दै नेपालगन्ज म्याराथनको आयोजना गरिएको क्रियटिभ हयाण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।
म्याराथनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेपालगन्जमा गरिएको यस म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो ।
खेलकुदको माध्यमबाट पनि राष्ट्रको पहिचान र विकास गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले पनि म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पिताम्बर तिम्सिनाले म्याराथनले केन्द्रबाहिरको खेलकुदमा आफनो छुट्टै बेग्लै पहिचान बनाउन सफल भएको धारणा राख्नुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६, १७:१५