वीरगञ्ज । पर्साका किसानहरूले उत्पादन गरेका भदैया धानले उचित मूल्य नपाउँदा किसान चिन्तित भएका छन् । भदैया धान अहिले १५ देखि १८ सय प्रतिकिलोमा बिक्री भइरहेको छ ।
व्यापारीहरूले मनोमानी ढङ्गले लगाएको मूल्यमै भदैया धान बिक्री गर्नु पर्दा किसान मर्कामा परेका छन् ।
किसानहरूले उत्पादन गरेको भदैया धान सरकारले खरिद गर्नुपर्ने माग गर्दै आए पनि त्यसो हुन सकेको छैन । व्यापारीहरूले तोकेको मुल्यमा भदैया धान बिक्री गर्दा लागत मूल्य पनि उठाउन गाह्रो भएको पर्साको पर्सागढी नगरपालिकाका किसान होमनाथ दाहालले बताउनुभयो ।
भदैया धान चाँडै सड्ने भएकाले तथा अगहनीधान रोप्नको लागि पैसा चाहिने हुँदा किसानहरू व्यापारीले लगाएकै मुल्यमा बिक्री गर्न बाध्य हुन्छन् । पर्सा जगरनाथपुर गाउपालिका वडा नम्बर २ दसौता टोलका अर्का किसान समिन गदीले आफूहरूको लगानी अनुसारको आम्दानी नहुँदा घाटा हुने गरेको उल्लेख गर्नुभयो ।
किसानहरूले १७ देखि २१ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको भदैया धानबाट बनेको चिउरा बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
मनोमानी रूपमा भइरहेको किनमेललाई सरकारले नियन्त्रण गर्नेु पर्ने बताउनुहुन्छ, किसान हकहित सङ्घर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदी ।
खाध संस्थानले पनि किसानहरूले उत्पादन गरेको भदैया धान खरिद गर्ने गरेको छैन । सरकारले धान खरिद गर्ने हो भने व्यापारीको मनोमानी अन्त्य हुने बताउनुहुन्छ नेपाल खाद्य संस्थान वीरगञ्जका प्रमुख अम्बिका घिमिरे ।
किसानहरुले उत्पादन गरेको भदैया धानले उचित मूल्य नपाउँदा किसान त मर्कामा छन् नै बिचौलियाहरूले सस्तोमा किनेर मङ्गोमा बेच्ने गरेका छन् ।
सन् २०३० सम्ममा गरिबीका सबै आयमहरूको अन्त्य गर्न कृषिको उत्पादकत्व क्षमता बढाउन लगानी थप्ने दिगो विकासको लक्ष्य छ तर स्थानीयस्तरमा भने भएको उत्पादनको पनि मूल्य पाउने अवस्था छैन ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६, १४:३१