काठमाडौं । शनिबार भएको उप निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ३७ जिल्लाको ५२ सिटका लागि भएको उप निर्वाचनको मतगणना जारीसँगै मतपरिणाम आउने क्रम जारी रहेको सम्बन्धीत निर्वाचन आयोगको कार्यालय र सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।
अहिलेसम्म १६ स्थानको नतिजा सार्वजनिक भएको छ । ती मध्ये नेकपाले ७, कांग्रेसले ३, रजापाले ३ र समाजवादीले ३ स्थानमा जितेको छ ।
दाङको क्षेत्र नम्बर ३ ‘ख’ मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले बिहान ८ बजेबाट सुरु हुँदैछ । हिजो भएको उप चुनावमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ३ ‘ख’ मा झन्डै ४५ हजार ७१८ मत अर्थात् ६६.५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
गण्डकी प्रदेशको लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेकपाले जितेको छ । गण्डकी प्रदेशकै बाग्लुङ प्रदेशसभा २ (ख) को मतगणना आज बिहान ८ बजेदेखि हुने भएको छ । यस्तै, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपाका देव कोइराला विजयी हुनुभएको छ ।
सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७ सय ९२ मतका साथ विजयी हुनु भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ विजयी हुनु भएको छ ।
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि नेकपाले नै विजयी हात पारेको छ । नवलपुुरको वौदीकाली वडानम्वर ५ को वडाअध्यक्ष पदमा भएको निर्वाचनमा नेकपाका उम्मेदवार खिमबहादुर खरुमगर निर्वाचित हुनुभएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदमा नेकपाका केदारनाथ आचार्य विजयी हुनु भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा अध्यक्ष बिजयी हुनुभएको छ ।
प्रदेश २ को अधिकांश क्षेत्रमा मधेशवादी दलले नै विजयी हासिल गरेका छन् । बाराको बारागढी गाउँपालिका वडा नम्बर एकमा समाजवादी पार्टीका सुरेश प्रसाद चौधरी विजयी हुनु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ ।
रौतहटको गढिमाई नगरपालिका–२ मा नेपाली कांग्रेस निर्वाचित भएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी हुनु भएको छ ।
सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छिन । महोत्तरीको पिपरा गाउँपालिकामा राजपाले जित हात पारेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा राजपा नेपालका मञ्जु मिश्र विजयी हुनु भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६, ०७:२९