काठमान्डु । त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका बीच आज सागको उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीका लागि भीआईपी प्यारापिटतर्फ बस्ने ठाउँलाई फुलमालाले सिँगारिएको थियो । रङ्गशालाभित्र र बाहिर सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्थ्यो । दर्शकदीर्घामा समेत प्रहरीहरू सुरक्षा व्यवस्थापनमा खटिएका थिए ।
रङ्गशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकका बीच, प्रतियोगितामा सहभागी भएका देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए । भूकम्पपछि पहिलो पटक भरिभराउ भएको रङ्गशाला बत्तीका कारण धपक्क बलेको थियो ।
साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नुभएको थियो । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सागको दीप प्रज्वलन गर्नुभयो । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ ग्रहण गरेका थिए ।
बेला बेलामा गरिएको आतिसबाजीले रङ्गशालाको माहोल भव्य बनाएको थियो । सागको उद्घाटन समारोह हेर्न आएकाहरूले प्याराफिट भरिएको थियो । रङगशालामा अति विशिष्ट, विशिष्ट, सर्वसाधारण, पत्रकार लगायतलाई छुट्टाछुट्टै बस्ने स्थानको व्यवस्था गरिएको थियो ।
रङ्गशालाबाहिर पनि मानिसहरूको भीड देखिन्थ्यो । उद्घाटन समारोहका लागि दशरथ रङ्गशालामा प्रवेश निशुल्क भनिए पनि पास बिना छिर्न दिइएको थिएन ।
सागमा २८ खेल समावेश गरिएको छ । जसमध्य एक खेल जनकपुरमा, ८ खेल पोखरामा र बाँकी खेल काठमान्डुमा हुनेछन् । सागमा सात देशका ३ हजारभन्दा बढी खेलाडीले ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्यपदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको हो । पहिलो पटक सन् १९८४ मा नेपालबाट सुरु भएको साग नेपालले तेस्रो पटक आयोजना गरेको हो । नेपालले दोस्रो पटक सन् १९९९ मा सागको आयोजना गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६, २१:१०