काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको फुटबलमा खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । पहिलो हाफमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।
खेलको ५१ औँ मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । खेलको १७ औँ मिनेटमा हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाउनुभएको थियो ।
नेपालका अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याउनुभयाो । स्वर्ण जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब थियो ।
जितसँगै ७ अङ्कसहित नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ भने दोस्रो स्थानमा भुटान छ । भोलि साँझ हुने बङ्गलादेशसँग बराबरी मात्रै खेले पनि नेपाल सीधै फाइनलमा प्रवेश गर्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६, १६:०६