लहान । दिगो विकासका लक्ष्य कार्यान्वयन गर्ने योजनामा सरसफाइको विषय पनि प्राथमिकताका साथ राखिएको छ । तर लहानमा भने सरसफाइका योजना कागजमै सीमित हुने हो कि भन्ने चिन्ता छाएको छ ।
लहान नगरपालिका १ का लक्ष्मण मण्डल दिसापिसाबका लागि अझैँ पनि शौचालयको प्रयोग गर्नुहुन्न । खुल्ला रूपमा दिसा गर्नु हुँदैन भन्ने थाहा भए पनि शौचालय बनाउने जग्गाको अभावले समस्या भएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत मन्डललगायत स्थानीयको घर बने तर मापदण्ड अनुसार शौचालय बनेनन् । कृष्ण टोल र मटियर्वा टोलका स्थानीयबासीको बाध्यता पनि उस्तै रहेको स्थानीय लक्ष्मण मण्डलको भनाइ छ ।
शौचालय बनाएकाहरूले पनि प्रयोग गर्न नपाएका लहान नगरपालिका १ का सुशील साहको भनाइ छ ।
सिरहा जिल्ला खुल्ला दिसामुक्त घोषणा भईसकेको छ । गाँउ र नगरलाई दिसामुक्त बनाउनका लागि करोडौँ बजेट खर्च गरिए पनि गरिब तथा दलित बस्तीभित्र धेरै ठाउँमा शौचालय बनेको छैन ।
सिरहामा सार्बजनिक स्थलमा समेत सार्बजनिक चौचालय नहुँदा यात्रुहरू पनि समस्यामा रहेको अर्का स्थानीय रामकुमार पासवानले जानकारी दिनुभयो ।
शौचालयको अभावमा यात्रु र स्थानीयबासीले अफ्ठेरो झेलीरहँदा लहान नगरपालिकाले भने ९० प्रतिशत स्थानीयले शौचालय प्रयोग गरीरहेको दावी गर्छ । लहान नगरपालिकाका मेयर मुनी साहले आफूहरू शौचालय व्यवस्थापनको लागि नै लागिपरेको बताउनुहुन्छ ।
सन् २०३० सम्ममा सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्यमा खुला रूपमा दिसा पिसाब गर्ने चलन वा बानीको अन्त्य गर्ने उल्लेख छ । तर सरकारको अभियान कार्यान्वयन गर्ने प्रक्रिया स्थानीयस्तरमा त्रुटि भएको लहानका स्थानीय बुद्धिजीविको बुझाइ छ ।
शौचालय प्रयोग गर्ने जनसङ्ख्याको अनुपात २०३० सम्ममा ९८ पुर्याउने भनिएको छ भने गत असोज १३ मा नेपाललाई नै खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ ।
तर शौचालय नबनाउने, बनाए पनि प्रयोगमा नभएको अवस्थाले भने दीगो विकासको लक्ष्य कार्यान्वयनमा चुनौती पनि उतिकै रहेको देखाउँछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६, १५:१४