काठमाडौँ । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिँदैछ । समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने उहाँका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री समारोहस्थल आउने सम्भावना नभएकाले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने थापाले बताउनुभयो । समापन समारोहमा सरकारले नेपाली पदकधारी खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्ने भएको छ ।
सागमा पदक जित्ने खेलाडीलाई नेपाल सरकारले दिँदै आएको रकममा वृद्धि गरेर वितरण गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
आज विभिन्न ५ विधाका खेल हुँदै
सागको आज अन्तिम दिन विभिन्न ५ विधाका खेलहरू हुँदैछन् । फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वासको खेल हुँदैछ । सबै खेल काठमाडौँमा हुनेछन् ।
पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।
सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाँचौ पटक फाइनल पुगेको नेपालबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
बास्केटबलको फाइनल खेल पनि आज हुँदैछ । पुरुष बास्केटबलमा भारत र श्रीलङ्काबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कर्वड हलमा दिउँसो १ बजेबाट हुनेछ ।
महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल दिउँसो साढे ३ बजेबाट हुनेछ । बास्केटबलमै महिला तर्फ भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बङ्गलादेशबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुने खेलहरू अहिले भइरहेका छन् । फाइनल खेल भने मध्यान्ह्१२ बजेर ३५ मिनेटमा सुरु हुनेछ ।
स्क्वासको टिम स्पर्धाको फाइनल खेल पनि आज हुँदैछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ कास्य पदकका लागि नेपाल र बङ्गलादेशले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ श्रीलङ्का र नेपालले कास्यको लागि खेल्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबल फाईनल खेल तथा समापन समारोहको टिकट मूल्य दोब्बरले बढाएको छ ।
राखेपले साधारण प्यारापिटतर्फ १ हजार र भीआईपीतर्फको २ हजार टिकट मूल्य निर्धारण गरेको छ । राखेपले सम्पूर्ण टिकट बिक्रीको जिम्मेवारी ई–सेवालाई दिएको छ ।
राखेपले समापन समारोहलाई व्यवस्थित बनाउन भन्दै साधारणतर्फ ८ हजार र भिआईपीतर्फ १ हजारमात्र टिकट बेच्ने जनाएको छ । साधारणतर्फको क्षमता १२ हजार र भिआईपीतर्फ २ हजार दर्शक क्षमता रहेको छ ।
समापन समारोह करिब डेढ घण्टाको हुनेछ । समापन समारोहलाई साग ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र विशेष अतिथिले सम्बोधन गर्नेछन् ।
१४ औं साग अब पाकिस्तानमा हुनेछ । समापन समारोहमै १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिनेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६, १०:३०