काठमाडौँ । सांसदहरूले नागरिकका विचार सुन्ने र आफूहरूलाई उत्तरदायी तथा झकझक्याउने काममा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
उनीहरूले सामुदायिक सूचना नेटवर्क (सीआईएन) को उत्पादनमा मुलुकभरका सामुदायिक रेडियोले प्रसारण गर्दै आएको ‘हेलो सांसद’ कार्यक्रम विचार सुन्ने र नागरिकका माग सम्वोधन गर्नका लागि उपयुक्त र प्रभावकारी थलो भएको टिप्पणी गरेका छन् ।
ललितपुरमा भएको ‘हेला सांसद’ कार्यक्रमको समिक्षामा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले विधेयकको सम्बन्धमा नागरिक र विज्ञसँगको छलफलको आधारमा मात्रै विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै सामुदायिक रेडियोले समुदायका नागरिकको धारणा सङ्कलन गर्ने र प्रदेश तथा सङ्घका सांसद्सँग जोडेर विकास एवं नीति निर्माणमा सहयोग गर्नसक्ने बताउनुभयो ।
सांसद एवं पूर्वमन्त्री संजय कुमार गौतमले विधेयक ल्याउदा त्यो कतिको उपयुक्त छ भन्ने विषयमा अध्ययन अपुग हुने गरेको बताउनुभयो ।
उहाँले विधेयक ल्याउदा पार्टीगत भन्दा पनि नागरिकलाई ध्यानमा राखेर ल्याउनुपर्ने भन्दै विधेयक कसका लागि हो भन्ने विषयमा गम्भिर छलफल गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागीहरूले राखेको विचारको सम्पादित अंश ।
मेटमणि चौधरी
सांसद, दाङ
सामुदायिक सूचना नेटवर्कले प्रासरण गर्दै आएको नागरिकलाई प्रत्यक्ष जोड्ने कार्यक्रमले सांसदलाई चुनावताका आफूले गरेको वाचाको विषयमा स्मरण गराइरहँदा त्यसले सांसदलाई आफ्नो जिम्मेवारी बोध गराउने काम गरेको छ । सांसदलाई निर्वाचित क्षेत्रमा लगेर नागरिकसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता आगामी दिनमा पनि उत्तिकै छ ।
गुरु बुर्लाकोटी
संविधानसभा सदस्य
सीआईएनले नागरिकलाई सांसदसँग प्रत्यक्ष जोड्ने कार्यक्रम सञ्चालन गरेर निकै राम्रो अभ्यास गरेको छ र यसलाई निरन्तरता दिनुपर्ने छ । संसदबाट पारित हुने विधेयकको विषयमा विषय विज्ञ र नागरिकसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने देखिन्छ । मुलुकको ऐन कानुन कर्मचारीमैत्री छ ।
विधेयक ल्याउने पुरानो परम्परालाई त्याग्नुपर्ने छ । संसदबाट पारित भइसकेका विधेयकको विषयमा रेडियोमार्फत नागरिकलाई जानकारी दिनुपर्ने र नागरिकको हकभन्दा विरुद्धमा भए त्यो विषयमा पनि सांसदलाई खबरदारि गराउनुपर्ने काम पनि सामुदायिक रेडियोले गर्नुपर्ने आवश्यकता छ ।
गोपाल बम
मुगुबाट निर्वाचित सांसद
सांसदले पहिले नागरिकसँग छलफल गर्नुपर्ने आवश्यकता छ । नागरिकलाई कस्तो नीति नियम र अधिकारलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सांसद आफैं सचेत हुनुपर्ने र सांसद नपुगेको ठाउँमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा ‘हेलो सांसद’ जस्तो कार्यक्रमले प्रभावकारी भूमिका खेल्छ ।
गजेन्द्रबहादुर महत
जुम्लाबाट निर्वाचित सांसद
सांसदले वा संसदबाट यदि गलत वा समाजमा पर्ने नकारात्मक असरबारे विधेयक ल्याउन लागेको छ भने त्यसमा सचेत गराउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सीआईएनले जुन हेलो सांसद कार्यक्रम प्रसार गरेको छ, यो अत्यन्तै प्रभावकारी छ । तर सांसदले विकास निर्माणका काम गर्छन् भन्ने धारणा नागरिकमा स्थापित गर्नुभएन ।
सरेश नेपाल
सभापति
प्रदेश नम्बर ३, अर्थ तथा विकास समिति
कानुन निर्माणको हकमा प्रदेश ३ सरकारले विज्ञसहितको छलफलका आधारमा कानुन ल्याउने अभ्यास गरेको छ । संघीय सरकारले संविधानमा भएका व्यवस्थालाई नमानेर प्रदेश सरकारलाई काम गर्नमा समस्या भइरहेको छ ।
विकासमा अराजकता अन्त्यका लागि चाहिने आवश्यक ठोस कानून अझैं बनाउन नसक्दा पनि काम गर्न समस्या भएको छ ।
नागरिकका लागि बनाइने कानुनको विषयमा नागरिक सचेत नभएर विकासको काममा मात्रै चासो हुने र सरकार र सांसदपनि विकासकै काममा बढी केन्द्रित भएको देखिन्छ यस्ता परम्परालाई अन्तय कसरी गर्न सकिन्छ त्यसमा सबैले भूमिका निर्वाह गर्नुपर्ने छ ।
रामहरि खतिवडा
संविधानसभाका सदस्य
सीआईएनले संसदका कुरा नागरिक समक्ष र नागरिकका कुरा संसदसम्म पुर्याउने काम गरेकोमा बधाइ छ । सांसदले भावनात्मक रूपले गरेको भाषण भन्दा नागरिकका समस्यालाई सम्वोधन हुनेगरी हरेक कुरामा ध्यान दिनुपर्ने छ ।
जनताका सरोकारका विषयमा नेता र सांसदले गर्नुपर्ने भूमिकालाई सचेत भएर सञ्चार माध्यमले उठाउनुपर्ने देख्छु । संसदमा भएका राम्रो र नराम्रो व्यवस्थाको बारेमा पनि सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने छ ।
संसदले गरेको नराम्रो अभ्यार र राम्रा अभ्यासको विषयमा सचेत गराउनुपर्नेमा सीआईएनले पनि ध्यान दिनुपर्छ ।
सरोज दाहाल
पत्रकार
सांसद, मन्त्री र नेताहरू पत्रकारसँग मितव्ययी रूपमा प्रस्तुत हुनुपर्ने देख्छु । जनताले उठाएका कुरालाई सांसदले पूरा गर्ने क्रम कमै छ । सांसद्ले जनतासँग गरेका वाचालाई स्मरण गर्दै विधेयक ल्याउनुपर्नेमा त्यसो हुन सकेको छैन ।
मुकुन्द शर्मा
पूर्व सचिव, संविधानसभाऽ
सङ्घीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई उनीहरूको कामको बारेमा बारम्बार अवगत गराउने काम सञ्चार माध्यमले गर्नुपर्छ ।
विधेयक निर्माण गर्ने विषयमा सम्बन्धित समितिले सरोकारवाला निकायसँग छलफल र बहस गराउने काम सांसद र समितिले गर्नुपर्ने हो । त्यसो देखिएको छैन । प्रत्यायोजन विधेयकहरूको विषयमा पनि सांसदले नागरिकलाई अवगत गराउनका लागि भूमिका खेल्नुपर्छ ।
दिलादत्त पन्त
आउटरिच अफिसर, संसद सहयोग परियोजना, युएनडीपी
आउने दिनहरूमा सांसदले उठाएका कुरालाई अभिलेखन गर्नुपर्ने आवश्यकता देखिन्छ । कानुन निर्माण गर्दा किन कार्यान्वयन हुन सकेन भन्ने विषयमा सोचेर अघि बढ्नुपर्ने देखिन्छ । कानुन निर्माणको क्रममा कहाँ चुकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ ।
खुल्ला संसदको अभ्यासमा सबै प्रदेश र सङ्घीय संसद लाग्नुपर्ने छ । आगामी दिनमा नागरिकलाई प्रत्यक्ष संसदसँग जोड्नका लागि खुल्ला संसदको अवधारणा लागु भयो भने सजिलो हुने अपेक्षा गरेको छु ।
सुवास खतिवडा
अध्यक्ष, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)
निस्वार्थ भावले स्थापना गरिएका सामुदायिक रेडियोले समुदायका कुरा सरकार समक्ष पुर्याउने काम गरेकाले सरकारसँग सामुदायिक रेडियोको भविष्यमा सांसदले नै सोच्नुपर्ने छ ।
नागरिकको आवाज सांसदसँग प्रत्यक्ष रूपमा जोड्नका लागि सामुदायिक रेडियो सहयोगी भएकाले सामुदायिक रेडियोको हकमा पनि छुट्टै विधेयक बनाउनुपर्ने हो ।
सांसद र नागरिकलाई प्रत्यक्ष जोड्दै सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको छ ।
टङ्क पन्त
संसदीय मामिला पत्रकार
संसदमा पेश हुने विधेयकमाथि सामान्य छलफल हुनुभन्दा पनि जसका लागि ल्याउन लागिएको हो विधेयक उनीहरुसँग छलफल गर्नु आवश्यक छ । नागरिकका लागि ल्याउन लागिएको विधेयक नागरिकसँग छलफल गर्ने अभ्यासको थालनी गर्नुपर्ने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६, २०:५२