काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे आफ्नो पार्टी नेकपासँगको छलफलपछि मात्रै राजीनामा दिने वा नदिने भन्ने निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
सभामुख कसलाई बनाउने भन्ने बारेमा पार्टीभित्र हानथाप चलिरहेको बेला उपसभामुख तुम्बाहाम्फेले राजीनामाका बारेमा सङ्केत गर्नुभएको हो ।
सीआईएनसँगको विशेष कुराकानीमा उहाँले आफू सभामुखका लागि योग्य रहेको दावी गर्दै आगामी प्रक्रिया सजिलो बनाउनका लागि राजीनामा दिने निष्कर्ष पार्टीले निकालेमा त्यसलाई स्वीकार गर्ने सङ्केत गर्नुभएको हो ।
नेकपामा पूर्वसभामुख सुवास नेम्वाङ र नेता अग्नी सापकोटाको नाम आगामी सभामुखको लागि चर्चामा रहेका बेला तुम्बाहाम्फेले आफूले हिउँदे अधिवेशन अघि राजीनामा दिने अवस्था नआएमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय लिने पनि सुनाउनुभयो ।
‘मलाई अहिलेसम्म कसैले पनि राजीनामा दिन भनेको छैन । मिडियामा त्यसै पार्टीले राजीनामा दिन भने पनि नमानेको भनेर चर्चा भइरहेको छ ।’ उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, ‘पार्टीले मलाई बैठकमा बोलाउँछ होला, सल्लाह गर्छ होला । त्यसपछि मात्रै म राजनीनामा दिने वा नदिने बारेमा निर्णय गर्छु ।’
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने प्रतिक्रिया दिनुभएको छ । सीआईएनसँग कुराकानी गर्दै उहाँले बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरूले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६, १६:५५