सल्यान । सल्यान कालीमाटी गाउँपालिका २ झिँगानेका नेत्रलाल वलीले ब्यबसायिक रुपमा मौरीपालन गर्न थालेको झण्डै १ दशक भयो । उहाँसँग अहिले ५५ घार मौरी छ । मौरीको एकघार बाट एक पटकमा झण्डै १० केजी मह उत्पादन हुन्छ । तर उत्पादित महको बिक्री नहुदाँ समस्या भएको उहाँ बताउनुहुन्छ ।
कालिमाटी गाउँपालिकामा झण्डै २५ परिवारले ब्यबसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । प्रत्येक घरधुरीले वर्षेनी १० देखी १२ क्विन्टलसम्म मह उत्पादन गर्छन् । तर उत्पादित मह विक्रि नभएर समस्या भएको मौरीपालक किसान लोकेन्द्र वली बताउनुहुन्छ ।
सल्यान र छिमेकी जिल्लाका बजारहरुमा केही मह बिक्री हुने गरेपनि महलाई ठूला बजाहरुमा निर्यात गर्न नसक्दा समस्या भएको छ । मौरीलाई आवश्यक पर्ने फूलहरु र चिउरी प्रशस्त मात्रामा पाइने भएकाले यस ठाउँ मौरीपालनका लागि उपयुक्त मानिन्छ । तर उत्पादित महको बजारीकरण नहुदाँ समस्या भएको छ ।
झिँगाने, सिमलकुना, खैरीकाँडा लगाएतका ठाँउका स्थानियहरुले मौरीपालन गर्दै आएका छन् । उत्पादित महको बजारीकरण र मौरीपालन ब्यबसायलाई ब्यबस्थित गर्न गाउँपालिकाले किसानले सहयोग गर्ने योजना बनाउँदै छ । गाउँपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार किसानका लागि कृषि विकास कोषको स्थापना गरिएको छ । त्यो कोषबाट किसानलाई व्यवसायिक बन्न ऋण दिइन्छ ।
आफूले उत्पादन गरेको मह शुद्ध र गुणस्तरीय हुने भएकाले बजारीकरणमा स्थानिय, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने किसानहरुको माग छ ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५, ०९:३४