काठमाडौं ।
नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा दलहरुबीच छलफल भइरहेका बेला संघीय संसदका महिला सांसदहरुले उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् ।
उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख किन नहुने ? भन्ने बारे सांसद महिला र पत्रकार महिलाहरुले हिजो छलफल गरेका हुन् ।
काठमाडौंमा आयोजना भएको अन्तरक्रियामा बोल्दै सांसदहरुले यदि वर्तमान उपसभामुख डा. तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले एकपटक आन्दोलनका लागि तयार रहनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै सांसद बिन्दा पाण्डेले सभामुखको अनुपस्थितीमा कुशलतापूर्वक संसद सञ्चालन गर्ने उपसभामुख सबै पक्षबाट सभामुख हुन योग्य व्यक्ति भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँजस्तो क्षमतावान व्यक्ति सभामुख पाउन गाह्रो छ । यदि कुनै कारणले उहाँलाई सभामुख बनाइएन भने त्यो कारण हो, उहाँ महिला हुनु ।’
पाण्डेले महिला भएकै कारणबाहेक उहाँलाई सभामुख बनाउन नहुने अरु कुनै चित्त बुझ्दो कारण नरहेको बताउनुभयो ।
सांसद निरुदेवी पालले औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी र चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् भएको बताउनुभयो ।
पालले भन्नुभयो, ‘औपचारिक शिक्षामा विद्यावारिधी (पीएचडी) हाँसिल गरेको । कानूनको विद्यार्थी । करिब ४० वर्ष राजनीति गरेको । राज्यसत्ता परिवर्तनका लागि भएका हरेक आन्दोलन र महिला आन्दोलनको सशक्त योद्धा । शालिन व्यक्तित्व उहाँ, पालले प्रश्न गर्नुभयो, ‘यो भन्दा योग्य अनि सक्षम व्यक्ति अरु को हुन सक्ला ?’
पालले महिला भएका कारण नभइ, सभामुख हुन योग्य मान्छे भएका कारण पनि डा. तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली राजनीतिमा लिङ्गको भन्दा लैंगिकताको विषय समस्याको रुपमा रहेकाले समानता कायम गर्न खोज्दा पितृसत्तात्मक सोच हाबी हुने गरेको सांसद निरा जैरुको भनाइ थियो ।
जैरुले भन्नुभयो, ‘संविधानले त सभामुख र उपसभामुख मध्ये एकजना महिला भनेको पो हो त । महिलाचाहिँ उपसभामुख मात्रै हुनुपर्छ भनेको होइन नि । त्यसैले यी दुबै पद महिलालाई नै दिँदा के फरक पर्छ ?’
विगतमा समावेशिताको मुद्दालाई उठाएको नेकपालाई सभामुखमा डा. तुम्बाहाङ्फेलाई नै पठाउने र उपसभामुख पनि महिला नै बनाएर नेपाली राजनीति र अन्तराष्ट्रियस्तरमा उदाहरण बन्ने सुनौलो अवसर आएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले राजनीतिमा लागेका, सबै पार्टीका महिलाहरू डा. तुम्बाहाङ्फेलाई सभामुख बनाउने अभियानमा एकजुट हुनुपर्ने आवश्यकता रहेको औंल्याए ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले नीतिगत रुपमा भइरहेका परिवर्तन, प्रयास र राजनीतिक मुद्दाहरू बारे छलफल, बहस र प्रचारका लागि पत्रकार र सांसद महिलाहरू बीच नियमित भेटघाट र छलफल आवश्यक भएको र आगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा सांसद दिलकुमारी शाह, अञ्जना बिसन्खे, हिरा गुरुङ लगायत १० जना सांसद र २५ जना पत्रकार महिलाको उपस्थिती थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६, ०७:१६