काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई सवारीसाधन दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर लागु गर्न निर्देशन दिनुभएको छ ।
पछिल्लो समय सवारीसाधन दुर्घटनाका खबर बढ्न थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरूलाई आज निर्देशन दिनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्त रूपमा निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सवारीसाधन दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनु भएको थियो ।
प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने गरेको टिप्पणी गर्दै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभयो ।
सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेलगायत काम तत्काल गरिहाल्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।
हरेक सवारीसाधन दुर्घटनाका कारणहरूको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । गृहमन्त्रालयले प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
छलफलमा गृहसचिव प्रेमकुमार राईले दुर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६, १७:५१