काठमाडौं । भिजिट नेपाल अथवा भ्रमण वर्ष २०२० को विषयमा नीति निर्माता मात्र होइन आम नागरिकको चासो छ । हरेक गाउँ र क्षेत्रसँग जोडिने भ्रमण बर्षलाई गाउँसम्मै पुर्याउन सामुदायिक रेडियोहरु पनि जोडिने भएका छन् । भ्रमण वर्षको प्रवद्धनको लागि सामुदायिक रेडियो प्रसारक संघ अकोराब र नेपाल भ्रमण वर्ष २०२० सचिवालयसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । अकोराब र सचिवालय विच आज समझदारी भएको हो ।
आज सचिवालयमा भएको एक कार्यक्रममा सचिवालयका संयोजक सुरज वैद्य र अकोराबका अध्यक्ष सुवास खतिवडाले हस्ताक्षर गर्नुभएको छ । यो सँगै देशभरीका सामुदायिक रेडियोहरु आजदेखि भ्रमण वर्ष २०२० मा औपचारिक रुपमा जोडिएका छन् ।
कार्यक्रममा भ्रमण वर्ष सफल बनाउन सरकारले मात्रै नभएर प्रत्येक नागरिकको साथ चाहिने सचिवालयका संयोजक सुरज वैद्यले बताउनुभयो ।
कार्यक्रममा भ्रमण वर्ष सफल बनाउन सरकारले मात्रै नभएर प्रत्येक नागरिकको साथ चाहिने सचिवालयका संयोजक सुरज वैद्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘पर्यटन वर्षलाई सफल बनाउनको लागि जुन आधारले पर्यटनको विकास हुनपर्ने हो त्यो भइरहेको छ । तर पनि सम्भावना अझै बढि छ । अहिले पनि पर्यटन भन्ने वित्तिकै सगरमाथा, पोखरा, अन्नपूर्ण, चितवन, काठमाण्डौंमा मात्रै सिमित छ । यसले सबै नेपाललाई पर्यटनमा छुवाएको छैन । तर भ्रमण वर्षले हरेक गाउँगाउँमा पर्यटन पुर्याउँनेछ । हरेक प्रदेश र स्थानीय तहमा पर्यटक पुर्याउने हाम्रो चाहाना छ । ’
उहाँले सातै प्रदेशमा पर्यटन वर्षलाई छुनेगरी नयाँ रोजगारी, नयाँ गन्तव्य, नयाँ लगानी बृद्धि गर्न लागेको बताउनुभयो । भ्रमण वर्षलाई सफल बनाउन सामुदायिक रेडियोहरुसंग भएको यो समझदारी महत्वपूर्ण भएको र यसले प्रत्येक नागरिकलाई भ्रमण वर्षमा जोडने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडाले भ्रमण वर्ष सफल बनाउन सामुदायिक रेडियोहरु प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष खतिवडाले सामुदायिक रेडियोहरु गाउँगाउँमा रहेकाले गाउँगाउँका विषयवस्तुहरु प्रसारण गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । विशेषरी समुदायका विविधता, संस्कृतिहरुलाई उजार गर्न, धार्मिक मेला, संस्कृतिहरुको संरक्षण र अतिथी सत्कार लगाएतका कुरामा जोड दिई नागरिकलाई सुसुचित गर्न सामुदायिक रेडियोहरु प्रतिवद्ध भएर लाग्ने उहाँको भनाई छ ।
यसअघि पर्यटनका लागि सँगसँगै नाराका साथ नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्ष २०११ का रूपमा मनाएको थियो । त्यो बर्ष करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिईएको थियो । भ्रमण वर्ष २०२० मा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । भ्रमण वर्ष २०२० मा पर्यटन फैलाउने, नागरिकदेखि देशको आम्दानी बढाउने र नेपाल चिनाउनेमा केन्दित हुनेछ ।
२०७२ वैशाखको विनाशकारी भूकम्प र त्यही वर्ष नाकाबन्दीको मार खेपेको नेपाली पर्यटन उद्योगमा छिट्टै पुनर्जागरण आउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६, १६:२१