माया कँडेल, बिजय एफएम, नवलपरासी
अहिले सुन्तलाको सिजन छ । नेपालका अधिकांश पहाडी क्षेत्रमा सुन्तला खेती हुन्छ । यसवर्ष सुन्तलाको उत्पादन पनि राम्रो छ ।
उत्पादन मात्रै होईन, बजार समेत राम्रो पाएपछि, नवलपरासीको पहाडी क्षेत्रका किसान खुशी भएका छन् ।
केहिवर्ष अघिसम्म बलिङ्टार ५ का खिमबहादुर थापा डोकोभरी सुुन्तला बोकेर कावासोती र दलदलले पुग्नुहुन्थ्यो । २८ किलोमिटर लामो पैदल यात्रापछि पुगिने बजारले कहिल्यै उचित मूल्य दिएन ।
अहिले अवस्था फेरिएको छ । सुन्तलाको भारी बोकेर बजार डुल्नु पर्दैन । सडक र ढुवानीको व्यवस्थाले केही सहज बनाएको किसानहरु बताउँछन् ।
तर ढुवानीको लागत भने बढि छ । जसले सुन्तला किसानलाई गुनासो गर्ने ठाउँ दिएको छ । किसानले फलाएको सुन्तलामा विषादी प्रयोग गरिएको छैन ।
सुन्तलाबाट रोजगारी र आम्दानीको सम्भावना देखेका किसान, सरकारी सहयोग पाए पूरै गाउँभरी सुन्तला खेती गर्न सकिने बताउँछन् ।
स्थानीय लालबहादुर नेपालीले शिक्षण पेशा छोडेर सुन्तला खेती शुरु गर्नुभएको छ । सुन्तला खेती गर्ने योजना बनाएका किसान, स्थानीय सरकारको सहयोगको प्रतिक्षामा छन् ।
बुलिङ्टारसँगै हुप्सेकोट र गैैडाकोटका पहाडी क्षेत्रमा सुन्तला खेतीको राम्रो सम्भावना छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६, १४:३५