काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ । आज बैठकमा अन्तिम छलफल पछि अध्यक्ष ‘प्रचण्ड’ले प्रतिवेदन माथि उठेका प्रश्नको जवाप दिइसक्नुभएको छ ।
अध्यक्ष ‘प्रचण्ड’को जवाफपछि आज थप छलफल गरेर प्रतिवेदन सुझाव सहित पारित हुनेछ । ६ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव समेत आज नै पारित हुनेछ ।
अध्यक्ष प्रचण्डलेस्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको बताउनु भएको छ ।
स्थायी कमिटीका सदस्य नेता सुरेन्द्र पाण्डेका अनुसार छलफल जारी रहेकाले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव समेत छलफलका आधारमा पारित गरिनेछ । नेकपाको सचिवालय विस्तार नहुने भएको छ ।
बैठकमा केन्द्रमा उपाध्यक्ष पद सिर्जना गर्ने र बामदेव गौतमलाई जिम्मेवारी दिने निर्णय भने भएको नेता सुरेन्द्र पाण्डेले सीआईएनलाइ जानकारी दिनुभयो । नेताहरुले केन्द्रमा उपाध्यक्ष राख्ने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग गरेका थिए । स्थायी समितिको अर्को बैठक आज पुस ६ गते बिहान ११ बजे धुम्बाराहीमा बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६, ०८:२१