काठमाडौं। हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । मन्त्री अधिकारीसहित चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको हा । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । ताप्लेजुङको तारेभीरको खप्टेढुंगामा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा सबै जनाको मृत्यु भएको खबर आएको रेडियो ताप्लेजुङबाट सीताराम गुरागाईले जानकारी दिनुभयो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री अधिकारीको टोली चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।
हेलिकोप्टरमा रहेका यात्रु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५, १५:४४