धादिङ । ‘विविधता, बहुलता र लैङ्गिक समानता, सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम धादिङमा सुरु भएको छ ।
धादिङको गल्छि गाउँपालिकाको बैरेनीमा आजबाट सुरु भएको सम्मेलनमा सामुदायिक प्रसारणमा महिलाको सहभागिता र सवालका विषयमा छलफल हुनेछ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको राष्ट्रिय परामर्श कार्यक्रममा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी, पत्रकार, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ ।
राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रियसभाका उपाध्यक्ष दाहालले सामुदायिक रेडियोले सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेतृत्व विकास र महिला सहभागिताको लागि आजबाट सुरु भएको छलफल कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महिलाहरूले समाजमा सम्मानजनक पद र भूमिका पाउन नसकेको उल्लेख गर्दै महिलाको भूमिकालाई पुरुषहरूले नै हस्तक्षेप गरेको टिप्पणी उपाध्यक्ष दाहालले गर्नुभयो । उहाँले सामुदायिक रेडियोले महिलाहरूको भूमिका विस्तारमा सघाउन सक्ने धारणा राख्नुभयो ।
समाजमा रहेका बोक्सी, छाउपडी, तिलक जस्ता कुप्रथाहरूका कारण महिलाहरूमा परेको समस्या सञ्चार माध्यमले उठाएर यस्ता समस्या हटाउनमा सहयोग पुर्याउन सक्ने भएकाले यस्ता विकृतिका विरुद्ध आवाज उठाउन रेडियोहरूलाई उहाँले आग्रह गर्नुभयो ।
‘महिलाहरूको लागि संविधानले सकारात्मक विभेदको व्यवस्था गरेको छ । त्यसको बारेमा नागरिक तहमा त्यति जानकारी भएको पाईँदैन ।’ उपाध्यक्ष दाहालले भन्नुभयो, ‘महिलाहरूमा भएका हिंसाजन्य घटना कम गराउन समाजमा सचेतना बढाउने काममा सामुदायिक रेडियोले विशेष भूमिका खेल्नुपर्ने अवस्था आएको छ ।’
‘संविधान र कानुनले महिलाको हक अधिकारको बारेमा अधिकार सुनिश्चित गरेको छ, तर कार्यान्वयन हुन सकेको छैन । कुटनितिक नियोग र राजनीतिक क्षेत्रमा महिलाको नेतृत्व तहमा पहुँच कम छ यसलाइ बढाउनुपर्छ ।’ उपाध्यक्ष दाहालले थप्नुभयो, ‘संविधानमा लेखिएका विषय कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनेछ ।’
कार्यक्रमको उद्घाटनशत्रमा अकोराबका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोको नेपालमा रहेको वर्तमान अवस्थाको विषयमा जानकारी गराउँदै सामुदायिक रेडियो आवाजविहीनको आवाज भएको बताउनुभयो । सामुदायिक रेडियोमा महिलाको सहभागिता कस्तो छ र समुदायमा महिलाहरूको सहभागिता कस्तो छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष खतिवडाका अनुसार समाजमा महिलाको अवस्था, महिलाको हकमा सामुदायिक रेडियोले कस्तो भूमिका निर्वाह गरेको छ लगायतका विषयम छलफल गरी कार्यक्रमबाट निचोड निकालिनेछ ।
कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले महिलाको हकमा सामुदायिक रेडियोले खेल्ने भूमिकामा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले सामुदायिक रेडियोले महिलाको विभिन्न क्षेत्रमा सहभागिताका लागि स्थानीय सरकारसँग समन्वय गरेर महिलालाई प्रतिशतको आधारमा भन्दा पनि सहभागिताको आधारमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियोको विश्व सङ्गठन (अर्माक) का एसिया प्रतिनिधि नीमि चौहानले नेपालमा मात्रै नभई एसियामा नै हरेक क्षेत्रमा सहभागिता न्यून रहेकाले यस्ता परामर्श कार्यक्रमले महिला सहभागिता बढाउन सहयोग पुग्ने विचार राख्नुभयो ।
संकल्प नेपालका अध्यक्ष लिली थापाले महिलाको वर्तमान अवस्था विस्तारै राम्रो हुँदै गए पनि अझैँ सक्रिय रूपमा सबै क्षेत्रका व्यक्ति लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महिलालाई समाजमा अझैँ पनि पितृसत्तात्मक सोँचका कारण सङ्घर्ष गर्नु परिरहेको बताउँदै उहाँले महिलाले गरेका काम सधैँ छायाँमा पर्ने र पारिएका कारण उनीहरूले गरेको कामलाई अगाडि ल्याउनुपर्ने धारणा राख्नुभयो ।
त्यसका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्ने र अझैँ सामुदायिक रेडियोहरूले गाउँठाउँका महिलाहरूले गरेका सकारात्मक कामको चर्चा गर्न र इतिहास लेख्नमा सहयोग पुर्याउन सक्ने धारणा राख्नुभयो ।
धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले महिलाको सवाल स्थापित गर्न नीति र व्यवहारको तालमेल हुनुपर्ने बताउनुभयो ।
धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोहरूले सञ्चारमाध्यमहरुको एकाधिकार तोडेको र आफ्नो गाउँ क्षेत्रको सूचना र जानकारी प्रस्तुत गरेको भन्दै शिक्षा र चेतनास्तर उठाउन सामुदायिक रेडियोले सहयोग पुर्याएको धारणा राख्नुभयो ।
सामुदायिक रेडियोका अभियन्ता तथा संविधानसभाका सदस्य कल्पना शर्मा चापागाईँले सामुदायिक रेडियो चलाउनमा देखिएको समस्या र चुनौतीहरूको बारेमा कुरा गर्दै सामुदायिक रेडियोले समाजमा खेल्नसक्ने भूमिकाको बारेमा चर्चा गर्नुभयो ।
छोरीहरूले अवसर पाए हरेक स्थानमा उत्कृष्ट काम गर्ने भन्दै उहाँले उनीहरूका लागि अवसर र सहभागिता भने गराउनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार महासङ्घ धादिङका सभापति नवराज छत्कुलीले कार्यक्रमले सामुदायिक प्रसारणको स्तर थप बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियोकर्मीका साथै सामुदायिक रेडियोका विज्ञहरू, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको छ ।
आज दिनभरि कार्यक्रममा सामुदायिक प्रसारणमा महिला सहभागिताको चुनौति, महिला सामुदायिक रेडियोका अनुभव आदान प्रदान, सामुदायिक रेडियोमा महिला र प्रविधि, सामुदायिक रेडियोमा महिलाको पहुँचलगायतका विषयमा बहस तथा छलफल हुने छ ।
छलफल र बहसका आधारमा निस्किएको निचोडबाट आगामी दिनमा रणनिति बनाउन सजिलो हुने अकोराबले अपेक्षा गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६, १२:१३