काठमाडौंं । आज बिहान सूर्यग्रहण लाग्दैछ । अंग्रेजी क्यालेण्डर बमोजिम आज लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ ।
नेपालमा बिहान ८.३० मिनेटमा सुरु हुने सूर्यग्रहण १०.१ मिनेटमा मध्य हुने र ११.३१ मिनेट जाँदा सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा नेपालबाट करीब १०.०० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
एष्ट्रोनोमिकल सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । राति ९ बजेर ४२ मिनेटदेखि सुतक लाग्ने ज्योतिष परिषद्का केन्द्रीय सदस्य समेत रहनुभएका ज्योतिष केशव गौतमले बताउनुभयो ।
सूर्यग्रहण कसरी लाग्छ ?
सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ । पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ ।
खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ । चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ ।
चन्द्रमाको बनोट करीब साढे करोड वर्षअघि भएको विश्वास गरिन्छ । र बिस्तारै चन्द्रमा पृथ्वीबाट टाढिदैछ । उक्त दुरी वार्षिक करीब १.६ इञ्च-चार सेन्टिमिटर मापिएको छ । वर्तमान अवस्थामा आकाशमा चन्द्रमाको आकार सूर्यको जत्तिकै देखिन्छ । र त्यसै कारणले पूर्णरुपमा छेकेको देखिने हो । तर उक्त कारण सधैं सत्य हुन्न ।
नेपालबाट सूर्यको खण्ड परेको भाग मात्रै देखिने हुँदा यसपटकको ग्रहणलाई वलय सूर्य ग्रहण भनिएको हो । नेपालबाट ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिन्न । तर यूरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकाको केही भागबाट भने सूर्य उक्त आकारमा देखिनेछ ।
नेपालको पूर्वी भागबाट यसअघि सन् १९६५ को नोभेम्बर २३ तारेखको बिहान ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिएको थियो । अब फेरि नेपालले उक्त संयोगका लागि करीब ४५ वर्ष कुर्नुपर्नेछ । ‘रिङ्ग अफ फायर’कै आकारमा अब सन् २०६४ को फेब्रुअरी १७ को बिहान नेपालबाट सूर्य ‘रिङ्ग अफ फायर’को आकारमा देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
ग्रहणमा के गर्ने, नगर्ने ?
खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने÷नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ । उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो ।
ज्योतिष गौतमका अनुसार ग्रहण लागेको गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुने बताउनुहुन्छ । धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने गौतम भन्नुहुन्छ ।
समाजका अध्यक्ष भट्टराईले भने अन्य दिन जसरी नै सूर्य ग्रहणको बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने सुझाउनुहुन्छ । उहाँ थप प्रष्ट्याउनुहुन्छ, “ग्रहण लागेको बेला सूर्यको प्रकाश छेकेर आउने हो, अन्य दिन प्रत्यक्ष रुपमा पृथ्वीमा पर्दा विकीरणबाट हुने असर ग्रहण लागेको बेला छेकेर आउने हुँदा विकीरणको प्रकोप कम हुने हो, बढ्ने होइन ।”
उहाँले १६ डी आइएन भन्दा कम लेन्स भएको काँचले सूर्यलाई हेर्न नहुने बताउनुहुन्छ । त्यसैगरी, छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
के ग्रहणका बेला खानु हुँदैन ?
सूर्यग्रहण लागेका बेला खानेकुरा खानु हुँदैन भन्ने मान्यतामा वैज्ञानिक सत्यता छैन । वैज्ञानिकहरुका अनुसार शास्त्रीय धारणामा वैज्ञानिक तालमेल मिल्दैन ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार ग्रहण लागेका बेला खानेकुरा खानु हुँदैन भन्ने शास्त्रीय धारणामा वैज्ञानिक मान्यता नरहेको बताउनुहुन्छ । नखादा झन असर गर्न सक्छ ।
वैज्ञानिकहरु भन्छन ‘ग्रहणलाई नाङ्गो आँखा वा असुरक्षित तरिकाले हेर्न हुन्न खानेकुरासँग कुनै मतलब छैन । ’
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६, ०८:०३