काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार छान्न नसकेपछि प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । आज १ बजेको लागि बोलाईएको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित गरिएको छ । अब अर्को बैठक पुस १६ गते बस्ने छ ।
नेकपामा कसलाई सभामुख बनाउने भन्ने सहमति जुटिसकेको छैन । सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान सभामुख कसलाई बनाउने भन्नेबारे छलफल भएपनि उम्मेदवारको नाम भने टुङ्गिएको छैन ।
नेकपामा सुवासचन्द्र नेम्वाङ र बर्तमान उपसभामुख डा शिवमायाँ तुम्बाहाम्फेको नाम चर्चामा छ । यसअघि अग्नि सापकोटा तथा देब गुरुङको नाम चर्चामा रहे पनि अब नेम्वाङ वा तुम्बाहाम्फे मध्ये एकको संभावना रहेको स्रोतले बताएको छ ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाः
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६, १४:५०