काठमाडौं । सत्तारुढ नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा संसद अनिर्णयको बन्दी बन्न पुगेको छ । भोलि बुधवार सभामुखको उम्मेदवार छान्ने प्रक्रियाका लागि बोलाइएको संसद बैठक फेरि ११ दिन पर धकेलिएको छ । कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपामा कुरा नमिलेपछि संघीय संसदको प्रतिनिधि सभा बैठक २७ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपाले सभामुख पद लिने निश्चित भए पनि पार्टीभित्रबाट पूर्वएमाले कि पूर्वमाओवादी खेमाबाट उम्मेद्वार छान्ने भन्ने विवाद नेतृत्व निर्णयमा पुग्न सकेको छैन ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगन भएको जानकारी गराएको हो । यसअघि पनि ११ गतेका लागि बोलाइएको बैठक ५ दिन सारिएको थियो । सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७६ साल पुस १६ गते बुधवार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले, ‘अर्को बैठक मिति २०७६ साल पुस २७ गते दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सभामुखको चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने सम्भावित कार्यसूची तयार पारेर संसद सचिवालयले बैठक तय गरेपनि दलहरुको आग्रहमा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दशरथ धमलाले सीआइएनलाई जानकारी दिनुभयो ।
नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रवचण्डले पटक पटक छलफल गरेपनि नाम टुंगो नलागेपछि बैठक नै फेरि पर सारिएको हो ।
नेकपामा सभामुखका लागि सुवास नेम्वाङ, अग्नी सापकोटा र शिवमाया तुम्बाहाङ्फे कसलाई बनाउने भन्नेमा बहस छ । नेकपाले सभामुख पद लिने निश्चित भए पनि पार्टीभित्रबाट पूर्वएमाले कि पूर्वमाओवादी खेमाबाट उम्मेद्वार छान्ने भन्ने विवाद नेतृत्व निर्णयमा पुग्न सकेको छैन ।
पूर्वमाओवादी खेमाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउन चाहेको भने पूर्व एमालेले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अघि सार्ने तयारी गरेको छ । उपसभामुख तुम्बाहाम्फेले पनि दावी गरिरहनु भएकै छ । प्रतिनिधिसभाको अधिवेशन सुरु भएसँगै पहिलो कार्यसूचीका रुपमा सभामुख चयन परे पनि नेकपाभित्रको विवादका कारण अझै लम्बिने भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६, १६:०३