काठमाडौं ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा नेतृत्व गर्दै यस बर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाउँदैछ ।
जिल्ला समन्वय समिति महासंघसँगको समन्वयमा मेलम्ची नगरपालिकामा रहेको गुफाडाँडामा आज जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिनुभयो।
सोही स्थानमा गतबर्ष प्रथम राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरिएको थियो ।
गतबर्ष देशभरका जिल्ला समन्वय समित प्रमुख र उपप्रमुखसहित जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नुभएको सम्मेलनस्थल गुफाडाँडामै यसबर्ष जलवायु दिवस मनाउन लागिएको उपप्रमुख सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार यसपाली पनि ७७ वटै जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुखलाई कार्यक्रममा बोलाइएको छ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रमको उद्घाटन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुनेछ ।
जलवायु दिवस २०७६ मा सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसद, पूर्व मन्त्री, जिल्लाका १२ वटै स्थानीय तहका निर्वाचित प्रतिनिधि, सरोकारवाला निकायको सहभागिता रहनेछ ।
नेपालको हिमाली जिल्ला सिन्धुपाल्चोक यसैपनि जलवायु तथा वातावारणीय जोखिमको हिसाबले अगाडी छ ।
जुरे पहिरोबाट जनधनको क्षति र भोटेकोशी नदि थुनिएको, २०७२ बैशाख १२ को भूकम्पमा सबैभन्दा बढि मानविय र भौतिक क्षति व्यहोरेको, भोटेकोशी बाढीले क्षति पुगेको चोटले पनि सिन्धुपाल्चोकले यो विषयको उठान गरिरहेको र निरन्तरता पनि दिईरहेको सरोकारवाला निकायका प्रतिनीधि बताउँछन् ।
गत वर्ष भएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा जिल्लामा जलवायु परिवर्तनले पारेको असरको विस्तृत अध्ययन गरिएको थियो । प्रारम्भिक अध्ययन अनुसार बिगत ३० वर्षमा (सन् १९८७—२०१७) सिन्धुपाल्चोक र आसपासको जिल्लामा रहेको जलवायु मापन केन्द्रको तापक्रम र वर्षा तथ्यांकको विश्लेषण गरिएको थियो ।
अध्ययनको निष्कर्ष अनुसार सिन्धुपाल्चोकमा रहेको सबै जलवायु मापन केन्द्रहरुको बर्षा घट्ने क्रममा रहेको देखिएको छ ।
औसत बार्षिक तापमान बढ्ने क्रममा रहेको छ । यसले पनि बहसलाई घनिभूत बनाउनुपर्ने अवस्था सृजना भएको गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोकका सचिव एवं केन्द्रीय सदस्य राजेन्द्र शर्माको बताउनुहुन्छ । सम्मेलनमा गैरसरकारी संघसंस्थाले पनि सघाएका छन् ।
गतबर्षको पुस १६ र १७ गते भएको प्रथम राष्ट्रिय जलवायु सम्मेलन २०७५ ले ‘वातावरण जोगिए पृथ्वी जोगिन्छ, पृथ्वी जोगिए हामी जोगिन्छौ’ भन्ने मुख्य विषयलाई आत्मासात् गरि आम सचेत नागरिकको विचमा सन्देश पु¥याउन जरुरी रहेको निष्कर्ष निकालेको थियो ।
बिग्रदो वातावरणको नजिरहरु र यसको कारक तत्व मानव समाज नै रहेको र यसको न्युनिकरणको जिम्मेवारी समेत हाम्रै हो भन्ने अठोटकासाथ कार्यक्रम समापन भएको थियो ।
१० बुँदे गुफाडाँडा घोषणा पत्र जारी गर्दै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तहमा जलवायु परिवर्तनको मुद्दा पेचिलो रुपमा उठान गरी सम्मेलन समापन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६, ०९:१६