सुनसरी । सुनसरीको बराह सब डिभिजन वन कार्यालय, चतराको गस्ती टोलीले आज राष्ट्रिय वन क्षेत्रबाट भरुवा बन्दुक सहित दुईजना सिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराह क्षेत्र ३ का बम बहादुर मगर र प्रेम कार्की रहेका छन् ।
उनिहरुको साथबाट चौध थान गोली, एक थान खुकुरी, एक थान चुप्पी र बारुद लगायतका सामग्री बरामद भएको बराह सब डिभिजन वन कार्यालयका अधिकृत शिवलाल विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माको नेतृत्वमा गएको गस्ती टोलीले आज दिउँसो हरिनीखोला वनक्षेत्रबाट उनिहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीमा बुझाईएको छ ।
हरिण र बँदेलको चोरी शिकारी हुने गरेको सूचना पाएपछि, बराह सब डिभिजन वन कार्यालयले सशस्त्र बन रक्षकको टोली सहित नियमित गस्ती गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६, १७:१९