जुम्ला । जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु भएको छ । सामाजिक कुँसस्कारको रूपमा रहेको छाउपडी प्रथा उन्मुलन गर्न जिल्ला प्रशासन कार्यालको समन्वयमा बिहीबारबाट महाअभियान सुरु भएको हो ।
मुगाल समुदायका छिरिङ ल्हामु लामालाई छाउ नबारे मात्र स्वस्थ भईने सन्देश दिने पहिलेदेखि नै चाहना थियो । जिल्ला प्रशासनको छाउपडि उन्मुलन महाअभियानमा सहभागी हुँदा उहाँले भन्ने अवसर पाउनुभयो ।
लामाले भन्नुभयो, ‘शारीरिक र मानसिक दुवै हिसाबले महिनावारीका बेला महिलालाई सकारात्मक सहयोग चाहिन्छ । छाउ बार्नु हामी कसैका लागि पनि फाइदा छैन ।’
छाउपडी कायमै रहनुमा धामी, झाँक्रीलगायत पुजारीहरूको भूमिका रहेको भन्दै आलोचना हुन्छ । तर छाउपडी उन्मुलन महाअभियान सफल पार्न जुम्लाका धामीझाँक्रिले समेत ऐक्यवद्धता जनाएका छन् ।
स्थानीय धामी पूर्णसिंह कठायत धामीझाँक्रिको कमीकमजोरीका कारण पनि छाउपडी हट्न नसकेको भन्दै छाउपडी अन्त्यका लागि अब आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ ।
महिलालाई सुरक्षित बनाउने र कुरीति अन्त्यका लागि सरकारको यो अभियानमा आफूहरु सार्थ रहेको पनि उहाँले बताउनुभयो ।
हालसम्म जिल्लाका २६ बस्ति छाउगोठ मुक्त भईसकेका छन् । चेतना बढेसँगै छाउ बार्नेहरू पनि घट्दै गएका तिला ३ दानिबाडाकी शान्ति तिरुवाको भनाइ छ ।
अभियान अन्तर्गत जुम्लाका प्रत्येक बस्तिमा भएका छाउगोठ भत्काईने छ ।
छाउबार्ने परिवारमा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता समेत काट्ने र छाउबार्ने तथा गोठमा बस्न बाध्य पार्नेलाई कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
बञ्जाडेले भन्नुभयो, ‘आजदेखि स्थानीय तहका जनप्रतिनीधि लगायत यहाँ रहेका अगुवाहरुले छाउगोठ भत्काउनुस् । यो तपाईंहरुले भत्काउनुभएन भने पछि हामी सुरक्षाकर्मी लगाएर भत्काउँछौं र भत्काउन लागेको खर्च पनि तपाईंहरुबाट असुलउपर गछौं ।’
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले अगाडी भन्नुभयो, ‘छाउपडि कसैले मान्छ वा मान्नलाई प्रोत्साहन गर्छ भने कानुनले कारबाही गर्छ । सामाजिक सुरक्षाका भत्ताहरु तपाईंहरुले पाउनुहुन्छ नि, त्यो रोकिनेछ ।’
महिनावारी भएको समयमा महिलामाथि गरिने विभेद कानूनले समेत जघन्य अपराध मानेको छ ।
केही दिनअघि सरकारले छाउपडी मान्ने र मान्न लगाउनेको सबै सेवासुविधा कटौती गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनहरू छाउपडि अन्त्यको अभियानमा केन्द्रित भएका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६, ०७:५४