गोरखा । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखादेखि काठमाण्डौसम्मको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।
पुस २७ गते काठमाण्डौँ पुग्ने गरी हिजोबाट यात्रा सुरु भएको हो । पदयात्रा सुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ ।
पदयात्रामा निस्किएको टोलीमा पृथ्वी नारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन् ।
वाजागाजासहित नेपाली सेनाको रणसिंह दल गणको ४० जना टोली पदयात्राका लागि निस्किएको हो । गोरखा दरवारको हनुमान भञ्ज्याङबाट निस्किएको टोलीले धादिङ, नुवाकोट हुँदै काठमाण्डौँ गएर यात्रा टुङ्ग्याउने नेपाली सेनाका पृतनापति गोकुल भण्डारीले सीआईएनसँग बताउनुभयो ।
सेनाले सुरु गरेको पदयात्राले नयाँ पुस्ताले बिर्संदै गएको इतिहासलाई ताजा बनाइदिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनुभयो ।
सेनाले सुरु गरेको पदयात्राले राज्य एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदानको कदर भएको स्थानीयबासीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले नेपाल एकीकरणमा शाहको योगदानको सम्मानमा पनि पदयात्राले भूमिका खेल्ने टिप्पणी गर्नुभयो ।
एकीकरण पदमार्ग अन्तर्गत आफ्नो पालिकामा पर्ने क्षत्रको सम्वर्धन र संरक्षण गर्ने भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले प्रतिबद्धता जनाउनुभयो ।
ऐतिहासिक पदमार्ग संरक्षण र प्रचारप्रसारका लागि स्थानीय तहले पनि चासो दिनुपर्ने भनाइ सरोकारवालाको छ ।
पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले पदयात्राले ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारहरुको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राख्नुभयो ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६, १५:३५