धनकुटा । प्रदेश नम्बर १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुदै गएको धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ मा रहेको पटेक डाँडा सरकारले घोषणा गरेको एक सय गन्तव्य सूचीमा पर्छ ।
एक सय गन्तव्यमा परेसँगै सङ्घ र प्रदेश सरकारले पटेक डाँडामा पूर्वाधार निर्माणको काम गरीरहेका छन् ।
सङ्घ र प्रदेशस्तरको पर्यटन मन्त्रालयको ८४ लाख र स्थानीयको श्रमदान गरी झण्डै ९० लाख रुपैयाँको लगानीमा हलहलेदेखि पटेक डाँडासम्म ३ सय मिटरको रेलिङसहित पक्की सिँढी निर्माण गरिएको छ ।
पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन पर्यटन पूर्वाधारका काम गरिरहेको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताउनुभयो ।
पटेक डाँडा धनकुटाको सबैभन्दा बढी उचाई भएको स्थान हो । पटेक डाँडाको उचाई समुन्द्री सतहबाट करिब २६ सय ५० मिटर छ ।
यो डाँडाबाट बाह्रैमास मकालु हिमशृङ्खला, कुम्भकर्ण हिमश्रृखलासहित १ नम्बर प्रदेशका अधिकांश जिल्लाका मनोरम दृश्य अवोलोकन गर्न सकिने स्थानीय दिवस खड्का बताउनुहुन्छ ।
पदयात्राका लागि पनि उपयुक्त मार्गको रूपमा विकास गर्न सकिने छथरजोरपाटी गाउपालिका वडा नं ६ का अध्यक्ष दीलबहादुर थापाको भनाइ छ ।
सरकारको गन्तव्य सूचीमा सूचिकृत भएपछि यो ठाउँमा आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल बढ्दै गएको छ । पटेक डाँडामा भ्यूटावर, ठाउँठाउँमा वनभोजस्थल र बहुसाँस्कृतिक मठमन्दिर निर्माण गर्न पहल गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६, १६:३२