काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रतिकुल बनेको मौसम आजबाट सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
मौसमको अवस्था सुधार हुँदै गए पनि चिसो भने कम नहुने उहाँले सीआईएनसँग बताउनुभयो ।
आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।
भोलि देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे महाशाखाले जनाएको छ ।
हिजोसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएको महाशाखाको भनाइ छ ।
हाल देशको पहाडी भूभाग लगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम खुले पनि बिहान र बेलुका चिसो रहीरहने हुनाले चिसोबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६, ०७:३५