काठमाडौं ।
चिसो बढेसँगै बालबालिकालाई रुघाखोकी लाग्ने, ज्वरो आउने र निमोनियाको जोखिम उच्च देखिएको चिकित्सकहरुले बताएका छन् ।
महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा निमोनिया भएर उपचारका लागि आउने बालबालिकाको संख्या बढेको छ । अस्पतालका अनुसार चिसो बढेसँगै कान्ति अस्पतालमा मात्रै दैनिक ५० देखि ६० जनासम्म निमोनिया भएका बालबालिका उपचारका लागि पुग्ने गरेका छन् ।
रामेछापका राधिका बोहोरा पनि छोरीलाई निमोनिया भएपछि अस्पताल धाईरहेको एकवर्ष पुगिसक्यो ।
निमोनिया विशेष गरि बालबालिकालाई लाग्ने श्वास प्रश्वाससम्बन्धी रोग हो । जसका कारण फोक्सोमा संक्रमण हुने गर्छ ।
चिसो मात्र नभएर काठमाडौंमा वायु प्रदूषण र धुलो धुवाँका कारण पनि बालबालिकामा निमोनिया हुने गरेको कान्तिबाल अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाले बताउनुभयो ।
चिकित्सकहरुका अनुसार, निमोनिया भएका बालबालिकालाई पटक–पटक आमाको दूध खुवाइराख्नुपर्छ । ६ महिनाभन्दा बढी उमेरका बच्चालाई बढी झोलिलो पदार्थ खुवाउनुपर्छ ।
ति बाहेक अदुवा, तुलसीको पात आदि राखेर पकाएको पानी समय समयमा पिउन दिने, बच्चाले छिटो छिटो सास फेर्ने गरेको छ कि छैन भनेर हेरविचार पनि गर्नुपर्छ ।
बच्चालाई न्यानो बनाएर राख्न पनि बाल रोग विशेषज्ञ डाक्टर रामहरी चापागाँईको सुझाब छ ।
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ५६ हजार १ सय ४६ जनामा निमोनियाको संक्रमण देखिएको थियो ।
यसमध्ये कडा निमोनिया १६ सय ३२ जना बालबालिका संक्रमित भएका थिए । निमोनिया सहित श्वास प्रश्वाससँग सम्बन्धित रोगका कारण गतवर्ष ७४ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा छ ।
दुई महिनाभन्दा कम उमेरको बच्चाले प्रतिमिनेट ६० वा त्यो भन्दा बढी पटक श्वास फेरेमा र दुई महिनादेखि ५ वर्षसम्मको बच्चाले ९० वा त्यो भन्दा बढी पटक श्वास फेरेमा निमोनिया भएको बुझ्नुपर्छ ।
यस्तो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार गराउन चिकित्सकहरुको सुझाव छ । विश्व स्वाथ्य संगठनका अनुसार हरेक वर्ष २४ हजार बालबालिकाको निमोनियाका कारण मृत्यु हुने गरेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६, ०७:२३