कालीकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.७ स्थित पंचकालिका उच्च माध्यमिक विद्यालयमा शिक्षक नियुक्तीका विषलाई लिएर प्रधानाध्यापक र स्थानिय अभिभावकबीच विवाद हुँदा एकजना अभिभावक कुटिएका छन् ।
अभिभावकले शिक्षक नियुक्ति गर्दा कागजात पूरा नभएको भन्दै विरोध गरेपछि स्थानीय दीलबहादुर शाही प्रधानाध्यापक लक्ष्मण शाहीबाट कुटिनुभएको हो लक्ष्मणले धारिलो हतियार प्रयोग गरी निधारमा गहिरो चोट पुग्ने गरी हातपात गरेको घाइतेका छोरा बखत शाहीले बताउनुभयो ।
शिक्षकमा नियुक्त भएका शुभकालिका गाउँपालिका वडा नं. ८ का रमेश महतारा र दलविर शाहीको अध्यापन अनुमती पत्र(लाइसेन्स) नभएको स्थानियले बताएका छन् ।
यस विषयमा हामीले गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पराज आचार्यलाई वास्तविक के हो भनी बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । नक्कली कागजात मिलाएर जागिरमा नियुक्त गर्न पाइदैन भनेर आवाज उठाउँदा प्रधानाध्यापकले सार्वजनिक स्थल चौकी वजारमा मदिरा सेवन गरी हातपात गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घाइते शाहीलाई उपचारका लागि सुर्खेत लगिएको छ । दीलबहादुर शाहीले नै मदिरा सेवन गरी शिक्षक नियुक्तिका विषयलाई लिएर झगडा गर्न खोजेको प्रधानाध्यापकको आरोप छ ।
घाइतेको उपचार खर्चका लागि दोहोरो सरसल्लाह अनुसार सोचविचार गर्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मण शाहीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६, १७:५४