जतिबेलासम्म दलले सभामुखको उम्मेदवार टुङ्गो लगाउँदैन, त्यति बेलासम्म राजीनामा दिनु जरुरी पनि छैन, आवश्यकता पनि छैन ।
काठमाडौं ।संसद बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ ।
हिजोको बैठकमा सभामुख चयन गर्ने कार्यसूची भएपनि सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसक्दा सूचना टाँसेर बैठक स्थगित भएको हो । यसअघि पनि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।
सत्तारुढ नेकपाको शनिबार साँझ बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने र आइतबारको बैठक आफैं चलाउने बताउनुभएको थियो ।
हिजो सभामुखको उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे पनि सहभागी बन्नुभएको थियो ।
उहाँले नेकपा सचिवालयले राजीनामा दिन गरेको निर्देशन नमान्ने बताउँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।
आफूलाई सभामुख बनाउने निश्चित नगरेसम्म उपसभामुखबाट राजीनामा नगर्ने बरु आफूलाई हटाएर देखाउन नेताहरुलाई तुम्बाहाङ्फेले चुनौति दिनुभयो ।
उपसभामुख तुम्बाहाङ्फेले पहिला सभामुखको उम्मेदवार टुङ्ग्याउन र त्यसपछि मात्रै आफूसँग यो विषयमा कुराकानी गर्न दुई अध्यक्षलाई भन्नुभएको नेताहरुले बताएका छन् । यसै सन्दर्भमा उपसभामुख तुम्बाहाङ्फेसँग सीआईएनका राजन रुचालले गर्नुभएको कुराकानीको सम्पादित अंश :
नेकपा सचिवालयको बैठकमा तपाईंले राजीनामा नदिने अडान दोहो¥याउनु भएको हो ?
हो, मैले दुवै अध्यक्षलाई म अहिले राजीनामा दिन्न नै भनेको हो । अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । यस्तो अवस्थामा राजीनामा दिएर सभालाई रिक्त बनाउन मिल्दैन । सभालाई रिक्त नबनाई सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनु मेरो जिम्मेवारी हो । संविधानअनुसार देश र जनताको हितमा काम गर्छु । मैले प्रष्ट नै भनेको हुँ, अहिले म प्रतिनिधि सभालाई रिक्त बनाएर राजीनामा दिन्न ।
तपाईंको भनाईपछि दुईजना अध्यक्षको प्रतिक्रिया के थियो ?
'तपाईंलाई सभामुख बनाउनै नसकिने भन्ने कुरा त हामीले गरेकै छैन नि । त्यो पनि सम्भावना छ त ।' भन्नुभयो ।
त्यति चै भन्नुहुन्छ ?
त्यति भन्नुभयो ।
तपाईंलाईचाहिँ दुईजना अध्यक्षको विश्वास नलागेको हो, त्यसोभए ?
विश्वास नलाग्ने भन्ने कुरै हुँदैन नि । तपाईंलाई मैले के भनें भने, प्रतिनिधि सभालाई रिक्त बनाउँदिन पो भनेको त । मैले अविश्वास गरें भनेको छु र ?
उसो भए ६ गतेको संसद बैठक अघि तपाईंको राजीनामा आउने सम्भावना छ की छैन ?
सम्भावना छैन । जतिबेलासम्म दलले सभामुखको उम्मेदवार टुङ्गो लगाउँदैन, त्यति बेलासम्म राजीनामा दिनु जरुरी पनि छैन, आवश्यकता पनि छैन ।
तर, नेताहरुले त त्यो भन्दा अगाडी हामी जसरी पनि राजीनामा गराउँछौ भन्दै बोलिरहनुभएको छ ।
संविधानतः राजीनामा गराउने हो नि । त्यो मुखले बोलेर हुँदैन त ।
६ गते तपाईंसँग कुरा गर्दा, राजीनामा दिइसकेको अवस्था भयो भनेदेखि ?
नहुनसक्छ । मैले भनिसकें त, प्रतिनिधि सभालाई नेतृत्व बिहीन बनाएर मैले छोडेर हिँड्न मिल्दैन । त्यसैले दलले के गर्नुप¥यो भने, आफ्नो उम्मेदवार चयन गरेर अघि बढ्नुप¥यो । मैले छोड्दिन्छु भनेकै छु त । मैले समातेर बस्छु भनेर भनेको छैन त ।
तपाईंलाई सभामुखको उम्मेदवार बनाएपनि भयो अथवा अरु कसैलाई बनाए पनि हुन्छ ?
मलाई बनाउनुप¥यो भन्ने मेरो दावी त छंदै छ त । स्वभाविक दावी हो त्यो । मैले भनि राखेकै छु त ।
यदि तपाईंलाई नबनाएर अरु कसैलाई बनाएको अवस्थामा तपाईं राजीनामा गर्नुहुन्न ?
त्यो हुन सक्दैन । त्यो हुन सक्दैन ।
राजीनामा गर्नु नै हुन्न त्यस्तो अवस्थामा ?
हो । त्यसैले संविधान टेकेर मलाई निकालिदिनुपर्छ दलले ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६, ०९:०८