काठमाडौं ।
प्रदेश नम्बर दुईमा मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा सप्ताह आजबाट सुरु हुँदैछ ।
आजदेखि आठ वटै जिल्लामा एकैसात कार्यक्रम शुरु हुन लागेको प्रदेश सरकारले जानकारी दिएको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले विरगञ्जको त्रियुद्ध माध्यामिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु हुनेछ ।
बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको ईश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिका र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एकैसाथ अभियान शुरु हुने मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।
अभियान अन्तरगत एक महिनासम्म गाउँपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर सञ्चालन हुने मुख्य मन्त्री लालबाबु राउतले सीआईएनसँग बताउनुभयो ।
मुख्यमन्त्री राउतले भन्नुभयो, ‘यो अभियानमा हामी गाउँ गाउँमै पुगेर, घरमा पुगेर बीमा गर्नेछौं ।’
सरकार र प्रभु बैंकको सहमति अनुसार सरकारका प्रतिनिधि, बैंकका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय प्रशासनका प्रतिनीधिको टोली गाउँ गाउँ पुग्ने राउतले बताउनुभयो ।
मुख्यमन्त्री राउतले अगाडी भन्नुभयो, ‘यसपाली त हामीले यस्तो कार्यक्रम पनि राखेका छौं कि, जो छोरीहरुको बीमा हुँदैछ, सकिन्छ भने उनीहरुलाई कम्बल दिने, स्यार्लेक्स दिने, उनीहरुको स्वास्थ्य परीक्षणका लागि आवश्यक डाक्टर पनि लैजाने भन्ने योजना छ । ’
यसैबीच, प्रदेश २ मा छोरीको बीमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका छन् ।
प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बीमा गराउने काम शुरु गरेसँगै प्रदेश सरकारले अभिभावकलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको हो ।
प्रदेश सरकारले छोरी शिक्षा बीमा अभियान अन्तरगत २०७५ साल माघ यता जन्मिएका हरेक छोरीको बीमा गराउने छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, १०:०७