काठमाडौं ।
तीन दशकअघि दोलखा चरिकोटका श्यामबहादुर खड्काको करेसाबाट शुरु भएको किवी खेती अहिले देशका २५ जिल्लामा व्यवसायिक रुपमा फैलिएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा झण्डै एक हजार हेक्टर जमिनमा किवी खेती हुन्छ र वार्षिक १० हजार मेट्रिक टन उत्पादन हुन्छ । अहिले दुईसय जना किसान किवीको व्यावसायिक खेतिमा लागेका छन् ।
सिन्धुपाल्चोकका किसानले पनि यतिबेला लटरम्म किवी फलाएका छन् ।
पाँचपोखरी थाङपाल ८ का चोकेल शेर्पा, लाङटाङ राष्ट्रिय निकुञ्जमा स्थायी जागिरे हुनुहुन्थ्यो । पाँच वर्षयता उहाँको पहिचान किसानको रुपमा फेरिएको छ र व्यवसायिक किवी खेतिमा लाग्नुभएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा झण्डै एकहजार हेक्टर जमिनमा किवी खेती हुन्छ र वार्षिक १० हजार मेट्रिक टन उत्पादन हुन्छ ।
रोपिएका पाँचसय बोट मध्ये दुईसय बोटले फल दिन थालिसकेका छन् । शेर्पाले भन्नुभयो, ‘प्रतिकेजी पाँच सयदेखि सातसय सम्म विक्रि भइरहेको छ ।’
मेलम्ची ९ का थप्परबहादुर भण्डारीले गतवर्ष ६ सय किलोग्राम किवी फलाएर तीन लाख रुपैंया कमाउनुभएको थियो ।
यसवर्ष उहाँको बारीमा झण्डै ९ सय किलो किवी फलेको छ । मकै खेती गर्दा, वर्षको १० हजार आम्दानी गर्नपनि मुस्किल हुने बारीमा किवी खेती गरेपछि मनग्य आम्दानी भएको छ ।
किवी खेतिको अनुभव सुनाउँदै भण्डारीले भन्नुभयो, ‘यसलाई धेरै दुःख पनि होइन धेरै सुख पनि होइन, एउटा बोटमा दुईभारी मल हालेर गोडमेल गरेर छोपिदिए हुनेरहेछ ।’
आम्दानीको हिसाब सुनाउँदै भण्डारीले अगाडि भन्नुभयो, ‘मैले पोहोर तीन लाखको बेचें, अहिले दुईलाखको बेचिसकें, अरु बाँकी छ । यो विक्रि नभएर ५० रुपैयाँ किलोमा मात्रै बेचेपनि हामीलाई फाइदा छ ।’
पहाडी जमिनमा सहजै उत्पादन गर्न सकिने किवीे फलको उच्च माग र महत्वका कारण किसानले राम्रो फाइदा लिन सक्छन् ।
मकै रोप्दा १० पाथी आउने गरामा किवी रोप्दा एक लाखको आम्दानी हुने उहाँको भनाइ छ । पहाडी जमिनमा सहजै उत्पादन गर्न सकिने किवीे फलको उच्च माग र महत्वका कारण किसानले राम्रो फाइदा लिन सक्छन् ।
स्थानीय वीरबहादुर गुरुङको बारीमा किवीको २५ वटा बोट छ । राम्रो आम्दानी हुने देखेपछि यसवर्ष अरु २५ बोट थप्नुभएको छ ।
उत्पादित किवी घरबाटै विक्री हुने गरेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘अहिलेको हकमा एउटा बोटमा अनुमानित ५० किलो फलेको छ । जम्मा २०/२५ बोटमा फलेको छ अहिले ।’
छिमेकीको बारीमा लटरम्म किवी फलेको देखेपछि गाउँका अरु किसान पनि किवी खेतिमा लागेका छन् । कालिमाया तामाङले पनि चार वर्षअघि ८ बोट किवी रोप्नुभएको थियो । ६ वटा बोटले फल दिन थालेपछि, यसपाली थप २० बोट रोप्नुभएको छ ।
फलफूलको राजा मानिने सर्वगुनी र लाभकारी किवी एक पोषणयुक्त फल हो ।
विशेष गरेर बालबालिका र सुत्केरी महिलालाई पोषणका लागि खुवाइने यस फलप्रति उपभोक्ताको रुची बढ्दै गएपछि विभिन्न जिल्लाहरुमा यसको विस्तार हुँदै गएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, १२:१८