काठमाडौं । सानो निर्णय लिनुपर्यो वा परामर्श गर्नुपर्यो भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुरर बालुवाटार पुग्नुहुन्थ्यो । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गर्नुहुन्थ्यो । तर ५ दिनसम्म उहाँ प्रधानमन्त्री ओलीको बैठक कक्षमा झुल्किनु भएन ।
सभामुख छान्नका लागि संवाद गर्नैपर्ने चटारोमा दुई अध्यक्षबीचको संवाद एकाएक रोकिएपछि पार्टीभित्र सम्बन्धमा दरार आएको कानेखुसी चलेको थियो ।
आखिर प्रचण्ड किन बालुवाटार जानु भएन ? भन्ने बहस ओली निकट रहेको पूर्व एमाले कोटरीमा चलिरहेका बेला आज बिहीबार अचानक उहाँ बालुवाटार पुग्नु भएको छ ।
सभामुख कसलाई बनाउने भन्ने छलफल पाँच दिनमा फेरि सुरु भएको छ । तर नाममा सहमति भने भइसकेको छैन ।
उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन पहिला अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीलाई साक्षी राखेर र पछि पार्टीले नै निर्णय गरेर आग्रह गरेको थियो । तर, नेकपा अध्यक्षको आग्रह अनि सचिवालयको निर्णयप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिने अडान लिएपछि नेकपा नेतृत्व सकसमा छ ।
बाहिरबाट हेर्दा सभामुख चयनमा दुई अध्यक्षले आफूनिकट नेता व्यवस्थापन र गुट बलियो बनाउन कसरत गरेको देखिन्छ । सभामुख कसलाई बनाउने भन्ने शक्तिसङ्घर्षको पाटो अब अरु निर्णय प्रक्रियामा पनि देखिनेछ ।
ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहिरहनु भएको छ । तर तुम्बाहाङ्फेले सचिवालयले सर्वसम्मत गरेको निर्णयलाई सीधै चुनौती दिँदा पनि कुनै प्रतिक्रिया भने दिनुभएको छैन ।
राजीनामा गराउन गम्भीर भएर लाग्नु पनि भएको छैन । त्यसमा अध्यक्ष प्रचण्ड असन्तुष्ट हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई सभामुख नबनाउने भए आफूसँग सल्लाह नगर्न दुइटै अध्यक्षलाई भनिसक्नु भएको छ ।
त्यसले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अप्ठयारो बनाइदिएको छ ।
प्रधानमन्त्री ओली मौन बस्नुको कुनै रहस्य रहेको भन्दै प्रचण्डले आफू निकट नेताहरूसँगको कुराकानीमा असन्तुष्टि जनाउनु भएको थियो । अडान कायम राख्नुपर्ने पार्टीभित्रको दवाव र ओलीको रहस्यमय मौनताले संवाद छाडेर चितवन हानिनुभएका प्रचण्ड बिहीबार बालुवाटार पुग्नु भएको छ ।
चारजना उम्मेदवारको नाम टेबुलमा राखेर अध्यक्षद्वय ओली र प्रचण्डबीच आज बिहीबार फेरि छलफल भएको उहाँको सचिवालयले जनाएको छ । सभामुखको उम्मेदवार नबनाएसम्म राजीनामा नदिने तुम्बाहाङ्फेको अडानपछि ओलीले प्रतिनिधिसभा बैठक स्थगित गर्न प्रस्ताव गर्नुभएको थियो । त्यसैअनुसार माघ ६ गतेसम्मका लागि संसद् बैठक स्थगित छ ।
पार्टी एकताको सम्पूर्ण प्रक्रियाको चक्र पूरा भएपछि जिम्मेवारीलाई प्रष्ट पारेर जान खोजे पनि अहिले फेरि सभामुख छनौटले कहिले माया टाँसिएझैँ गर्ने, कहिले माया छेवैमा नपर्ने जस्तै भएको छ ।
अब बस्ने संसदको बैठक अघि सभामुखका विषयमा सहमति नगरे संसद थप बन्धक हुने देखिन्छ । नेकपाले सभामुखको निर्णय गर्न नसक्दा विधेयकहरू थन्किएका छन् ।
पार्टी सञ्चालनको जिम्मा दिने तर आफ्नो अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागि सहयोग नगर्ने भन्दै प्रचण्डको ओलीसँग ठूलो गुनासो छ । अग्नी सापकोटालाई सभामुखका लागि अगाडि सार्नुभएका उहाँले पम्फा भुसाललाई पनि सूचीमा पार्नुभएको छ ।
बाहिरबाट हेर्दा सभामुख चयनमा दुई अध्यक्षले आफूनिकट नेता व्यवस्थापन र गुट बलियो बनाउन कसरत गरेको देखिन्छ । सभामुख कसलाई बनाउने भन्ने शक्तिसङ्घर्षको पाटो अब अरु निर्णय प्रक्रियामा पनि देखिनेछ ।
नेकपाका नेता सुवास नेम्वाङ पार्टी नेतृत्वले निर्णय गर्न नसक्दा सन्देश गलत गएको बताउनुहुन्छ । ‘पार्टीले पनि निर्णय गर्नुपर्छ । उपसभामुखले पनि बाटो खोलेर सहज बनाउनुपर्छ ।’ नेम्वाङले भन्नुभयो, ‘अब पूर्व एमाले, पूर्व माओवादी होइन नेकपाका तर्फबाट सभामुखको उम्मेदवार अगाडि सार्नुपर्छ । ’
पार्टी एकतादेखि नै शक्ति सङ्घर्षको अभ्यासमा लागेका दुई अध्यक्षले एकताको सम्झौतालाई विषय बनाएर लामो समय आफ्नै सम्बन्धको पिरतीमा शङ्का गरेका थिए ।
पार्टी एकताको सम्पूर्ण प्रक्रियाको चक्र पूरा भएपछि जिम्मेवारीलाई प्रष्ट पारेर जान खोजे पनि अहिले फेरि सभामुख छनौटले कहिले माया टाँसिएझैँ गर्ने, कहिले माया छेवैमा नपर्ने जस्तै भएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, १५:५८