सर्लाही । गोलभेँडाको शहर भनेर चिनिने प्रदेश २ को सर्लाहीका किसान यस वर्ष शीतलहरले गोलभेँडा उत्पादनमा कमी आएपछि चिन्तामा छन् ।
लगातारको शीतलहरका कारण यो वर्ष गोलभेँडा खेती गरेका किसानले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।
गत वर्ष सर्लाहीका किसानले फलाएको गोलभेँडा बिक्री नभएर खेतमै कुहिएको थियो । तर यो वर्ष शीतलहरका कारण गोलभेँडा उत्पादन राम्रो छैन ।
उत्पादन घटेर निराश भएका किसान भारतबाट गोलभेँडा भित्रिएपछि आफूहरुले उत्पादन गरेको गोलभेँडाको मूल्य घट्दा झन मारमा परेका छन् ।
हरिवन नगरपालिका–२, अत्रौलीका किसान माधव खरेल यस वर्ष राम्रोसँग गोलभेँडा नफलेको बताउनुहुन्छ । भारतबाट आएको गोलभेँडाका कारण आफ्नो गोलभेँडाले मूल्य नपाएपछि किसान झन मारमा परेका उहाँको भनाइ छ ।
पुस लागेदेखि शीतलहरसँगै गोलभेँडामा विभिन्न रोग देखिएको किसान बताउँछन् । कृषि प्राविधिकसँग समन्वय गरी औषधि छिटे पनि गोलभेँडामा शीतलहरको असर रोकिएको छैन् ।
लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका गोलभेँडा किसान तेजबहादुर गोले पनि उस्तै चिन्तामा हुुनुहुन्छ । रोग लागेर यसवर्ष गोलभेँडा उत्पादनमा कमी आएको गोलेले बताउनुभयो ।
गत वर्षहरुमा पाँच कठ्ठामा २५/२६ क्रेटसम्म फल्ने गरेकोमा यसवर्ष मुस्किलले ७/८ क्रेट फलेको उहाँको भनाइ छ ।
भारतीय बजारका कारण नेपाली किसान आत्मनिर्भर हुन नसकेका सर्लाही नवलपुर बजारका व्यापारी शम्भु चौधरीको भनाइ छ ।
आयातित गोलभेँडासँग प्रतिस्पर्धा गर्न नसक्नु यहाँका किसानका लागि मुख्य चुनौती बनेको छ ।
सर्लाहीको उत्तरी भेगका लालबन्दी, चन्द्रपुर, हिरापुर, पत्थरकोट, रानीगञ्ज, सासापुर र अत्रौलीमा व्यवसायिक रुपमा उत्पादन हुने गोलभेँडा पोखरा, काठमाण्डौं, वुटवल, विराटनगर लगायत देशका प्रमुख शहरहरुमा पुग्ने गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६, १२:३२